जाडोमा मृत्युः गरिबीका कारणले वा अवितरणमुखी नीतिले ?

जाडोमा मृत्युः गरिबीका कारणले वा अवितरणमुखी नीतिले ?



जाडोले मधेसका केही जिल्लाहरूमा स्कूलहरू बन्द भए । फेरी पनि बन्द हुनसक्छ । केही गरिब तथा बिपन्नहरूको मृत्यू भयो । मृतकको संख्या बढ्न पनि सक्छ । मधेसमा अप्रत्यासित रूपमा पहिलो पटक यो मौसम आएको होइन, यो अपवादको जाडो हैन । मधेसमा पहाडी क्षेत्रहरूको भन्दा भिन्न शित लहर सहितको कडा जाडो बर्षेनी भै रहन्छ । हर बर्ष जाडोको याममा मानिसहरूको मृत्यू पनि भैरहन्छ । तत्काल यस बारे चर्चा हुन्छ, फेरी कुरा सेलाएर जान्छ ।

हरेक बर्षको जाडोमा गरिबहरू नै किन मर्छन् ? नेपालमा मात्र होइन, सीमावर्ती भारतमा पनि गरिबहरूको मृत्यु भएको सुनिन्छ । बंगलादेश, पाकिस्तान तथा दक्षिण एशियाका अन्य मुलुकहरूमा पनि । यो मुलतः प्रतिकूल मौसमको मार मानव शरीरले थाम्न नसकेको हो कि गरिबीसंग पनि यसको कुनै सम्बन्ध छ ? गत बर्ष सार्वजनिक भएको सरकारी तथ्यांकअनुसार मधेस प्रदेशको बहुआयामिक गरिबीको दर भने ४७.८९% पुगेको छ । यस बर्ष संभवतः यसमा अझ केही बृद्ध भएको हुनुपर्छ । मलाई लाग्दछ, प्रायसः हरेक बर्ष मधेसमा तथा देशमा हुने गरेको जाडोबाट भएको मृत्यु भनिएको र बढदो गरिबी बीचको सम्बन्ध खोजौ बारे विमर्श हुनु पर्दछ । यो गम्भीर बिषय हो, यसका बारे गम्भीरताका साथ बहस हुनुपर्छ ।

‘गरिबी’ र ‘अकाल’ काबारेमा नोवेल पुरूष्कारबाट सम्मानित अमर्त्य सेनले धेरै लेखेका छन् । उनको प्रसिद्ध पुस्तक “poverty and famines” मा नोवेल पुरस्कार पाएका अर्थशास्त्री अमर्त्य सेनले जर्ज वर्नाड शाँले लेखेको एक मर्मस्पर्शी प्रसंगको उद्धरण दिएका छन् । शाँ ले आफ्नो कृति “म्यान एण्ड सुपरम्यान” मा आयरिश अमेरिकी पात्र मेलोन (Malone) मार्फत बडो घतलाग्दो चर्चा बढाएका छन् । पात्रको रूपमा मेलोन अप्रवासी अमेरिकी थिए । जो, आयरल्याण्डबाट अमेरिका आएका थिए । मेलोनले अर्का पात्र व्यायलेटलाई सोध्छन्-सन् ४७ को भयानक भोकमरीमा मेरो पिता जी मर्नु परेको बारे तिमीले सुनेका थियौ ?

व्यायलेट : अ त्यो ठूलो अकाल ?
मेलोन भन्छन्: अकाल हैन क्या, भोकमरी !
उनि संझाउदै भन्छन्- जब कुनै देशमा प्रचूर खाद्यान्न हुन्छ । त्यस देशले निर्यात पनि गरिरहेको हुन्छ, वा त्यस देशले पर्याप्त मात्रामा अनाजको आयात समेत गरेको हुन्छ- यस्तोमा त्यहाँ अकाल त हुन्न् नि ! तै पनि मेरो पिताको भोकमरीले मृत्यु भयो । भोक कै सामना गर्न नसकेर म आफ्नो देश परित्याग गरी अमेरिका आएको हुँ बुझ्यौ ?

यसरी मेलोनले व्यायलेटलाई भोकमरी र अकालका बीचको फरक संझाएको थियो । अमर्त्य सेन राज्य नियन्त्रित अवितरणमुखी राज्य व्यवस्थाको दोष केलाउन सक्ने खप्पिस अध्येता हुन् । यिनलाई पढेर समुन्नत मुलुकहरूले ब्यहोर्नु परेको भोकमरी, अकाल र जाडोबाट मर्नु परेकाहरूको परिस्थिति बुझ्न सकिन्छ ।

मानव शरीरले १०-१३ डिग्रीमा झरेको तापक्रम र चिसो शित लहरलाई थाम्न नसक्ने होईन । तरपनि मानिस मरिरहेका हुन्छन् । अहिलेको जाडोमा मधेसको सप्तरी सिरहा तिर बढी मानिस मरिरहेका छन् ।

केही अपवाद वाहेक गर्मी र चिसो जस्ता मौसमी दुर्दान्ताले लोककल्याणकारी समाजहरूमा मानिस मर्दैनन् । जिम्मेवारी विहीन र लोक कल्याणकारी नीतिका बिरोधी राज्यमा मात्र यस्तो मृत्यूहरू हुन्छ । न भए संसारको मानचित्रमा साईवेरिया र अन्टार्कटिकाहरू प्राग:एतिहासिक कालदेखि नै मानवविहीन हुन्थ्यो । जर्मनीको म्यूनिख र बेलायतको लंदन जस्ता शहरहरू हरेक बर्षको जनवरीमा चिसोले मरेका मानिसहरूको लम्पसार कब्रिस्तानमा रूपान्तरित हुनेगर्थ्यो । तर, त्यसो हुदैन ।

काठमाडाैं उपत्यका र मधेसी बजारका सडक पेटीमा लगाईने हङकङ बजारहरूमा जताततै सस्ता कपडाहरू बिक्रीमा राखिएको पाइन्छ। सय/ढेड सय रूपियाँसम्ममा जीऊ छोप्ने लुगाहरू पाइन्छ। निर्वस्त्र निर्धन गरिबहरूका लागि यस्तो लुगा जीवनरक्षक हुन सक्छ। तर, सरकारद्वारा यस्ता बस्त्रहरू बितरण गरिदैन । स्वायत्त शासनको अभ्यास गर्न तम्सेर बसेका नव निर्वाचित स्थानीय प्रतिनिधिहरूको जन कल्याणकारी प्राथमिकतामा यो कार्य पर्दैन । धर्मांध समाजको गाँस पुर्याउन दशैंको मुखमा सरकारी अनुदानबाट करोडौं करोडको भेडा च्यांग्रा झिकाउने सरकार सस्तो दामको लुगाफाटो झिकाएर गरिबगुरूवाको बस्तीमा बाँडदैन ।

संसार साक्षी छ, औपनिवेशिक भारतको बंगालमा सन् ४३ को अकाल, सन् ७३-७५ मा इथोपियाको अकाल, अफ्रिकी साहेल क्षेत्रको सन् ७० को दशकको अकाल, यस्तै सन् ७४ मा बंगलादेशको अकालहरूमा भएको लाखौंका मृत्युहरूका लागि तत्ठाँउहरूका राज्य व्यवस्थाको जनअहितकारी, अकल्याणकारी राज्य सोच र नीति निर्माताहरू जिम्मेवार रहे। सबै सभ्य मुलुकहरू, उत्तरदायी अन्तर्राष्ट्रिय संघ संस्थाहरू, शोधकर्ताहरूले यस तथ्यलाई स्वीकारेका छन् । यसका बावजूद पनि आज दशकौं पछि नेपालमा बर्षमा एक पटक फगत २/४ सय रूपियाको कपडा लत्ता नपाएर देशको जनता मर्नु परिरहेको छ। र, हामी जाडो बढ्यो, शीत लहर बढ्यो भनेर बसेका छौं !