स्पट फिक्सिङमा स्वदेशी र विदेशी गरी १० जना संलग्न: सिआइबी

स्पट फिक्सिङमा स्वदेशी र विदेशी गरी १० जना संलग्न: सिआइबी


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको बताएको छ। सिआइबीले मङ्गलवार पत्रकार सम्मेलन गरी स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको बताएको हो। सिआइबीका अनुसार ४ नेपाली र ६ विदेशी रहेका छन्।

फिक्सिङमा संलग्न ४ नेपालीमध्ये एक जना मात्र खेलाडी रहेका छन्। यसैगरी विदेशीमा पनि एक जना खेलाडी, ४ व्यवस्थापक र १ जना बाहिरी रहेको सिआइबीले जनाएको छ। सिआइबीले हालसम्म दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा राष्ट्रिय क्रिकेट टिमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम रहेका छन्। आलमलाई राजविराज र आदिललाई विराटनगरबाट पक्राउ गरिएको हो।

आदिलले गत वर्ष अमेरिकाविरुद्धको खेलबाट एक दिवसीय राष्ट्रिय टिम र पपुवा न्युगिनीविरुद्धको खेलबाट टी–२० टिममा डेब्‍यू गरेका थिए। मेहबुब भने नेपालका चर्चित अलराउन्डर हुन्।