काठमाडौं । जिल्ला अदालत काठमाडौंले सौन्दर्य प्रतियोगितामा सहभागी बालिकामाथि मानव बेचबिखन र यौन दुराचार गरेको आरोपमा ब्युटी पेजेन्टका सञ्चालक मनोज पाण्डेलाई अदालतले दोषी ठहर गरेको छ ।
मंगलबार जिल्ला न्यायाधीश दीपक खनालको इजलासले मनोज पाण्डेविरूद्ध सरकारी वकिलले लगाएको अभियोग दाबी पुग्ने भन्दै फैसला गरेका हुन् ।
पाण्डेलाई बाल यौन दुराचारमा ६ महिना कैद र ५० हजार जरिवाना सुनाएको छ ।
मानव बेचबिचन कसुरमा भने दोषी ठहर गरेको छ । उनलाई सजाय निर्धारण गर्न माघ २३ गतेलाई पेशी तोकेको छ। तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा दोषी ठहर भए पनि सजाय निर्धारण गर्न अर्को सुनुवाइ हुने गर्छ ।
मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेमाथि आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो ।
पाण्डेमाथि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई आमाबुवाको अनुमतिबिना एउटा ठाउँ भनी अर्को ठाउँ बोलाएर बलात्कार गरेको र अरूलाई समेत बलात्कार गर्न लगाएको भन्दै सरकारी वकिलले मानव बेचबिखन र बाल यौन दुराचार मुद्दा लगाएको थियो ।
प्रतिक्रिया