केहि पैसा कमाउन विदेश भौतारिन नपरोस् भनेर काम गरिरहेका छौं : प्रमुख गिरी

केहि पैसा कमाउन विदेश भौतारिन नपरोस् भनेर काम गरिरहेका छौं : प्रमुख गिरी



तीन तहको सरकार मध्ये जनताको नजिकको सरकार स्थानीय सरकार हो । संविधानले कार्यविभाजन गरे पनि स्थानीय जनता अधिकांश कामहरु स्थानीय सरकारबाट नै भइदिए हुन्थ्यो भन्ने चाहान्छन् । स्थानीय सरकारले जनताको हरेक गतिविधिमा अभिभावकत्व निभाउन सक्नु पर्छ, भन्ने जनभावना छ । हाम्रो देशका केहि पालिकाहरु जनताको समस्या समाधान गर्न भन्दा विभिन्न विषयमा विवाद गरेर समय खर्चिरहेका छन् । स्थानीय सरकारको दोस्रो कार्यकालको पहिलो वर्षमा हामी छौं । यस समयमा स्थानीय सरकारले के—कस्ता काम कारवाहीहरु गरिरहेका छन् भन्ने सन्दर्भमा हामीले चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीसँग कुराकानी गरेका छौं । ०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित भएर पाँच वर्ष काम गरिसकेका उनलाई नगरवासीले फेरी पनि प्रमुखमा रहेर काम गर्न विजयी गराएका छन् । प्रमुख गिरीसँग ग्लोब नेपालकालागि रामनाथ कुँवरले गरेको कुराकानीको सारसंक्षेप :


चन्द्रागिरि नगरपालिकाको प्रमुखमा तपाईंलाई जनताले फेरी पनि जिताउनुको कारण के हो ?
नगरवासीले मैले काम गर्ने तरिकालाई रुचाउनुभएको हो । मैले नगरपालिकामा निष्पक्ष र स्वतन्त्र ढंगले काम गरेको छु । यहाँका सबै जनताको सुःख-दुःखमा साथ दिएको छु भन्ने लाग्छ । यहाँको धर्म-संस्कृतिको संरक्षणमा पनि हामीले ध्यान दिँदै आएका छौं । सबैलाई समेटेर अगाडि बढेकोले नै मलाई पुनः निर्वाचित गराएको हो भन्ने लाग्छ ।

चन्द्रागिरि नगरपालिकामा तपाईँ निर्वाचित भएर आएपछि के-के काम गर्नुभयो ?
म चन्द्रागिरिमा यस अगाडिको कार्यकालमा पनि प्रमुख भएर पाँच वर्ष काम गरेको हो । मेरो कामलाई नगरबासीले मुल्याङ्कन गरेर नै पुनः जिताएका हुन् । पहिलो कार्यकालमा हामी निर्वाचित हुँदा एकदमै शुन्य अवस्थामा थियौं । कर्मचारी व्यवस्थापन, कानुन निर्माण जस्ता हरेक कुरा हामीले शुन्य अवस्थाबाट सुरु गरेको हो । त्यसपछि हामीले सबै कुरालाई व्यवस्थित गर्दै ल्याएका छौं । विकासका पुर्वाधारहरु खासगरि सडक, शिक्षा, स्वास्थ्य, रोजगार, फोहोरमैला व्यवस्थापन, खानेपानी जस्ता सबै क्षेत्रको हामीले सुधार गर्दै ल्याएका छौं ।

नगरपालिकाको विकासका काममा हामीले अन्तर्राष्ट्रिय सहयोगहरु पनि जुटाउँदै आएका छौं । हामीले पहिलो कार्यकालमा नै पालिका अस्पताल बनाएका छौं । त्यसैगरी पालिका भवन, वडा कार्यलय भवनहरु, सडक सञ्जाल विस्तार, सबै ठाउँमा खानेपानी वितरण, स्वास्थ्य, शिक्षा सबै क्षेत्रको स्तरोन्नति गरेका छौं । विभिन्न स्थानमा पार्कहरु निर्माण गर्ने, धार्मिक स्थलहरुको पुनर्निर्माण र सुधार गर्ने कामहरु गरेका छौं । यो कार्यकालको सुरुवातबाट नै हामी पहिलो कार्यकालको कामलाई पनि निरन्तरता दिने र नयाँ योजनामा पनि काम गर्ने गरेका छौं ।

यो कार्यकालमा नगरपालिकामा के कस्ता योजना पुरा गर्ने लक्ष्य छ ?
पहिलो कार्यकालमा हामीले पुर्वाधार विकासका कामलाई महत्व दिएको हो । अब हामी यो कार्यकालमा पुर्वाधार विकास, सामाजिक विकास र जनताको जिवनस्तर सुधार्ने कामहरु गर्ने छौं । समृद्ध हुनलाई पुर्वाधार विकासले मात्रै हुँदैन आर्थिक विकासमा पनि उतिकै ध्यान दिन पर्छ भन्ने हामीले बुझेका छौं । किसानहरुलाई तालिम दिएर उत्पादनलाई जोड दिने हाम्रो योजना छ । त्यसैगरी बजारिकरणलाई पनि उतिकै महत्व दिने छौं । यसरी हामी आयआर्जनमा जोड दिएर अगाडि बढेका छौं ।
सुशासनका लागि पनि हामीले धेरै तयारी गरेका छौं । अब चन्द्रागिरि नगरपालिकाका हरेक काम प्रविधि मार्फत सेवा सुविधा प्रवाह हुन्छ । त्यसैगरी उज्यालो चन्द्रागिरि कार्यक्रम मार्फत हरेक सडकमा बत्ती जडान गर्दै छौं । त्यसैगरि सिसिक्यामरा जडान गर्ने योजना छ । त्यसपछि हामी नगरपालिकामा फिरी वाइफाईको व्यवस्था गर्न लागेका छौं । हाम्रो नगरपालिकामा पर्ने लगभग १२ किलोमिटर राजमार्गमा हामीले बत्ती र सिसिक्यामराको व्यवस्थापन गरिसकेका छौं । त्यसमा नगरपालिकाले निरन्तर अनुगमन गरिरहेको छ ।

चन्द्रागिरि नगरपालिकामा हामीले २६ करोड लागतमा अर्को एक अस्पताल निर्माण गर्दैछौं । त्यसैगरि हामीले थानकोटमा जर्मन सरकारको सहयोगमा एक अर्ब बजेटमा अस्पताल निर्माण गर्दैछौं । एडिविबाट पनि खानेपानी आयोजनामा काम भइरहेको छ । १४ वटा वडामा खानेपानी आयोजनाको सर्वे भइरहेको छ । लगभग एक अर्बको लागत स्विकृत भएको छ । त्यसैगरी हामीले हाम्रो नगरपालिकामा भएको सुरुङमार्गलाई व्यवस्थित गर्ने कामहरु भइरेका छन् । त्यसैगरी यहाँबाट हेटौंडा जाने मार्गको पनि काम भइरहेको छ । त्यसमा पनि काम अन्तिम चरणमा पुगेको छ । हामीले काठमाडौंबाट २ घण्टामा हेटौंडा पुग्ने वातावरण बनाइराखेका छौं । त्यसैगरी हाम्रो नगरपालिकामा ५० प्रतिशत जनसहभागितामा पनि कामहरु भइरहेको छ ।

त्यसो हुनाले पुर्वाधारका कामहरुमा हाम्रो नगरपालिकामा लगभग धेरै कामहरु भइसकेका छन् । अब हामीले गर्ने धेरै कामहरु अन्तिम चरणमा पुगेका छन् । फोहोर व्यवस्थापनमा हामीले फोहोरलाई मोहोरमा परिणत गर्ने गरि काम गरिरहेका छौं । त्यसैगरि नगरवासीलाई केहि पैसा कमाउनका लागि विदेश जाने जागिरको लागि भौतारिने गर्न नपरोस् भनेर आर्थिक पक्ष सुधार्न विभिन्न योजनाहरुमा काम गरिरहेका छौं ।

स्थानीय सरकारमा कस्ता चुनौतीहरु छन् ?
स्थानीय सरकार भनेको भेटिने सरकार हो । केन्द्र सरकार लेखिने सरकार र प्रदेश सरकार देखिने सरकार हो । स्थानीय सरकार जनताको हरेक गतिविधिमा समावेस हुन सक्ने भएकोले भेटिने सरकार हो । साना-साना समस्याको समाधान गर्न प्रत्यक्ष भेटिने सरकार स्थानीय सरकार हो । जनताले हरेक काम स्थानीय सरकार मार्फत भइदियोस् भन्ने चाहान्छ । हाम्रोमा पर्ने राजमार्ग केन्द्र सरकारको कार्यक्षेत्र हो । तर त्यहाँ खाल्डा पर्दा, फोहोर हुँदा नागरिकले नगरपालिकाले किन नगरेको भनेर प्रश्न उठाउँछ । त्यसो हुनाले सबै काम पालिकाले गरिदिए हुन्थ्यो भन्ने जनताको सोच नै हाम्रो स्थानीय सरकारको मुख्य चुनौती हो ।

आफ्नो क्षेत्राधिकार भित्र नपरे पनि स्थानीय तहले अभिभावकत्व निर्वाह गर्न सक्नुपर्छ । कुनै घटना भैहाल्यो भने हामी त्यहाँ तत्काल पुगेर सल्लाह सुझाव दिँदा पनि धेरै हुन्छ । त्यसो हुनाले हामी जनताको भेटिने सरकार हो । स्थानीय सरकारले जन्मदेखि मृत्युसम्म जनतालाई साथ दिन सक्न पर्छ, त्यो नै मुख्य चुनौती हो । तर पनि हामी बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म जनताको काममा खटेर यी चुनौतीहरुको सामना गरिरहेका छौं ।

केन्द्रको राजनीतिमा गठबन्धनहरु जुट्ने र फुट्ने हुँदा स्थानीय सरकारलाई कति प्रभाव पर्दो रहेछ ?
केन्द्र र प्रदेशको सरकार परिवर्तन हुँदा प्रशासनिक क्षेत्रमा केहि फेरबदल, कर्मचारीको फेरबदल गर्ने जस्तो केहि चल्दो रहेछ । तर निस्वार्थ ढंगले काम गर्दा हामीलाई केन्द्र र प्रदेश सरकार फेरिदा केहि असर परेको छैन । नियमित आउने बजेटहरु आइनै रहेका छन् । हामीले उच्चपदस्थ कर्मचारी र व्यवस्थापनसँग राम्रो पहँच विस्तार गरेका छौं । त्यसरी समन्वय गरेर पनि हामीले राष्ट्रिय-अन्तर्राष्ट्रिय योजनाहरु पारेका छौं । त्यसो हुनाले हामीलाई सबै क्षेत्रबाट साथ र सहयोग मिलेको छ ।

तीन तहको सरकारमा के कस्ता विषयमा समन्वय हुन सकेका छैनन् ?
स्थानीय सरकारलाई आवश्यक पर्ने ऐन कानुनहरु केन्द्र र प्रदेशले नबनाईदिदा हामीलाई केहि असहज भएको छ । यद्यपि, हामीले आफुले बनाउन मिल्ने र सक्ने कानुनहरु आफै बनाएर अगाडि बढेका छौं । अप्ठ्यारो परेको अवस्थामा हामीले तत्तकाल ऐन बनाउने, कार्यविधि बनाउने, नियमावलि बनाउने गरेर नगरपालिका सञ्चालन गरेरहेका छौं । खासगरि शिक्षा क्षेत्रमा अझैपनि समस्या छ ।

चन्द्रागिरि नगरपालिकावासी र तपाईँ जनप्रतिनिबीचको सम्बन्ध कस्तो छ ?
मैले निर्वाचनमा उठ्दा पनि पहिले यो गर्छु र त्यो गर्छु भनेर भनिन् । अहिले पनि म भन्दिन्, काम गरेपछि मात्रै भन्ने हो । प्रतिबद्धता पत्रमा पनि हामीले गर्न सक्ने कुराहरुलाई मात्र राखेका छौं । कामीले गरेको काम र काम गर्ने तरिकाबाट जनता खुशि छन् । हामीले हरेक कामहरु जनतासँग छलफल गरेर गर्ने गरेका छौं । त्यसो हुनाले चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधि र जनताबीचको सम्बन्ध एकदमै सुमधुर छ ।