नर्सलाई न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारबाही हुन्छ : स्वास्थ्य मन्त्री

नर्सलाई न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारबाही हुन्छ : स्वास्थ्य मन्त्री


ग्लोब नेपाल
486
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले नर्सहरूलाई न्यूनतम पारिश्रमिक नदिने निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् । न्यूनतम पारिश्रमिक पनि नदिइ नर्सहरूलाई काममा लगाउने कुरा मान्य नहुने बताउँदै उनले त्यस्ता स्वास्थ्य संस्थाहरूमाथि अनुगमन गरी तथ्य र प्रमाणको आधारमा कारबाही हुने चेतावनी दिएका हुन् ।

आज आइतवार काठमाण्डौमा आयोजित नेपाल नर्सिङ सङ्घको ६१ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री गिरीले आफूले मासिक ८/१० हजार रुपैयाँमा निजी क्षेत्रमा नर्सहरूले काम गर्नुपर्ने कहालीलाग्दो अवस्था सुनेको भन्दै तथ्य र प्रमाण जुटाउनका लागि मन्त्रालयले निजी क्षेत्रका सबै अस्पताल र स्वास्थ्य संस्थाहरूमा तत्काल अनुगमन गर्ने घोषणासमेत गरेका छन् ।

उनले नर्सहरूलाई ‘अनलाइन पेमेन्ट’ को व्यवस्था गर्न पनि निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिए ।

मन्त्री गिरीले कोरोनाकालमा नर्सहरूले आफूलाई जोखिममा राखेर स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंशा गर्दै उनीहरूलाई आवश्यक तलब, भत्तासहितको व्यवस्था मिलाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।