गुल्मी । गुल्मीमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी महिलाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरद्वारा अनुसन्धान सुरु गरिएको छ । आइतबार हातमा टेप लगाएको, खुट्टा टेपले बाँधेको र घोप्टो पारिएको अवस्थामा मुसिकोट नगरपालिका–७ वामी निवासी ५७ वर्षीया गंगादेवी शेरचनको शव फेला परेको थियो ।
घटनाको दृश्य हेर्दा हत्या गरिएको हुन सक्ने भन्दै भैरहवाबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अर्जुन रानाभाटले बताए । आइतबार दिनभर तालिम प्राप्त कुकुरको प्रतिक्षामा घटनास्थललाई शिल गरेर राखिएको थियो ।
हिजो बेलुकी साँझबाट मात्रै तालिम प्राप्त कुकुर र प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरी र कुकुरले मृत अवस्थामा फेला परेकी गंगादेवीको शव र घरवरिपरिको अवस्थाबारे अवलोकन गरेको छ । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शवलाई पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम लैजाने तयारी पनि गरिरहेको प्रहरी उपरीक्षक (एसपी) रानाभाटले बताए । शेरचन सोही घरमा एक्लै बस्दै आएकी थिइन् ।
मृत गंगादेविको घरको चेनगेट बन्द अवस्थामा थियो । शेरचन बिहान घरबाट बाहिर ननिस्किएपछि छिमेकीले सोधखोज गर्दा उनको शवलाई हातमा टेप, खुट्टामा टेपले बाँधेको र घोप्टो पारिएको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । शेरचनले विगत ४० वर्षदेखि गंगा होटल संचालन गर्दै आएकी थिइन् । स्थानीय आफन्त सुनिल शेरचनले घटना शंकास्पद भएकोले बिशेष अनुसन्धान कुकुरमार्फत गर्न माग गरेका थिए ।
प्रतिक्रिया