भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा  

भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा  



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न गाउँमा पहिलो पटक नेपाल टेलिकमको सेवा पुगेपछि स्थानियवासी खुसी भएका छन् ।

नेपाल टेलिकमले भोटेकोशी गाउँपालिका–१ बगाममा  टावर निर्माण गरेर सेवा सञ्चालन गरेपछि स्थानीयलाई सहज भएको हो । उक्त स्थानमा यसअघि मोबाइल सेवाको पहुँच थिएन । ग्रामीण बस्तीलाई सञ्चारको पहुँचमा जोडन टेलिकमले थ्रीजी सेवा विस्तार गरेको स्थानीय ध्रुव थापाले बताए । 

यस क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा ल्याउन सो टावर विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाइएको भोटेकोशी गाउँपालिका निवर्तमान अध्यक्ष राजकुमार पौडेलले बताए । 

‘टेलिकमले अहिले टावर निर्माण गरी सञ्चालनमा ल्याएको छ, निकट भविष्यमा हामी उक्त टावरलाई स्तरोन्नति गरी अत्याधुनिक प्रविधिको फोरजी सेवामार्फत भ्वाइस र उच्च गतिको इन्टरनेट (मोबाइल डेटा) सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौं,’ पौडेलले  भने । 

पहिले टावर नहुँदा दुःख पाएका नागरिकले टेलिकमको थ्रीजी सेवा एकसाथ सञ्चालनमा आएपछि भोटेकोशी गाउँपालिकाका बगाम, छगाम, साबुखानी, गिप्ते ,तारतुङ ,सेबुङ लगायत आसपासका गाउँमा करिब १ सय ६० घरधुरी प्रत्यक्ष लाभान्वित भएको स्थानीय ध्रव थापाले जानकारी दिए । 

यसअघि फोनमार्फत् कुराकानी गर्न १ घण्टा हिँडेर लिस्तीमा पुग्नु पर्ने बाध्यता यहाँका स्थानीयलाई थियो । यस सेवाले फोन सम्पर्कका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ । 

टावर सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरीय भ्वाइस तथा डेटामार्फत इन्टरनेट चलाउन सहज भएकोे छ । टावर निर्माणसँगै त्यस क्षेत्रको प्रचारप्रसार र सूचना आदानप्रदानको निमित्त थप सहज भएको स्थानीय तथा समाजसेवी दावा लामाले बताए ।

शनिवारदेखि बगाममा बनेको नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि पहिलोपटक यस क्षेत्रका बासिन्दा टेलिफोन सेवासँग जोडिएका हुन् ।