न्युकासल काराबाओ कपको फाइनलमा

न्युकासल काराबाओ कपको फाइनलमा



लन्डन। साउथह्याम्पटनलाई हराउँदै न्युकासल युनाइटेड काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आफ्नै मैदानमा मंगलबार राति भएको सेमिफाइनल दोस्रो लेगको खेल २–१ ले जित्दै न्युकासल फाइनलमा पुगेको हो । पहिलो लेगको खेल १–० ले जितेको न्युकासलले समग्रमा खेल ३–१ ले आफ्नो पक्षमा पार्दै फाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइनलको दोस्रो लेगमा १० खेलाडीमा समेटिएको न्यूक्यासलको जितमा सिन लङस्टाफले दुई गोल गरे । साउथह्याम्टनका चे एडम्सले एक गोल फर्काए ।

खेलको पाँचौं मिनेटमा लङस्टाफले गोल गर्दै न्युकासललाई सुरूवाती अग्रता दिलाएका थिए । २१ औं मिनेटमा लङस्टाफले व्यक्तिगत दोस्रो गोल गर्दै न्युकासललाई २–० को को अग्रता दिलाए । त्यसपछि २९ औं मिनेटमा साउथह्याम्पटनका चे एडम्सले गोल गर्दै खेललाई २–१ मा ल्याए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल न्यूक्यासल २–१ ले विजयी भयो ।

यस्तै, खेलको ८२ औं मिनेटमा ब्रुनो गुइमारेसले रातो कार्ड पाएपछि न्युकासल १० खेलाडीमा समेटिएको थियो ।

न्युकासल सन् १९९९ पछि पहिलो पटक इंग्लिस फुटबलको फाइनलमा पुगेको हो । फाइनलमा न्युकासल युनाइटेडले म्यान्चेस्टर युनाइटेड वा नटिङघम फरेष्टमध्ये एक टोलीसँग खेल्नेछ । यी दुई टोलीबीचको सेमिफाइनलको दोस्रो लेगको खेल आज राति हुनेछ । पहिलो लेगमा म्यान्चेस्टर युनाइटेडले नटिङघमलाई ३–० ले हराएको थियो ।