एक महिने ‘श्री स्वस्थानी ब्रत’ आज समापन गरिंदै

एक महिने ‘श्री स्वस्थानी ब्रत’ आज समापन गरिंदै


ग्लोब नेपाल
54
Shares

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज समापन गरिंदैछ । आज माघ शुक्ल पूर्णिमा । आजभन्दा एक महिना अघि अर्थात् पौष शुक्ल पूर्णिमादेखि श्री स्वस्थानी व्रतकथा शुरु भएको थियो ।

विशेष गरी हिन्दू महिलाहरूले एक महिनासम्म मनाउने श्री स्वस्थानी व्रत कथा आजबाट समाप्त हुँदैछ । श्री स्वस्थानी व्रतकथामा विशेष गरी श्री स्वस्थानी देवीको पूजा र आराधना गरिन्छ । शिवजी तथा अन्य देवदेवीको पनि आराधना गरिन्छ ।

विशेष गरी काठमाण्डुको साँखुको शाली नदीमा व्रतालुहरूको आज विशेष भीड हुन्छ । यसका साथै देशका विभिन्न जलाशययुक्त स्थानमा पनि श्रद्धालु भक्तजनहरूको भीड हुन्छ ।

हात गोडाका नङ काटी नुहाइधुवाइ, शुद्ध चोखो लुगा लगाई सक्नेले एक महिनासम्म र नसक्नेले शुरु र आज अन्तिमदिनमा व्रत लिन्छन् । रातो पहिरन, सिन्दूर र हातमा रातो चुरामा सजिएकी विवाहिता महिलाले आफ्नो श्रीमान्‌को दीर्घायु तथा सम्पन्नताको कामना गर्दछन् भने अविवाहिताले श्री बृद्धि तथा राम्रो भविष्य तथा सुयोग्य वरको कामना गर्दै व्रत बस्छन् ।

धार्मिक रूपमा एक महिनासम्म मनाइने, स्वस्थानी देवीको कथा वाचन तथा श्रवण गरिने, विधि विधान अनुसार व्रत आरम्भ गर्ने तथा समापन गर्ने गरिन्छ ।

भोलिपल्ट बिहानै विधि अनुसार नै फूलपातीहरू नदीमा बहाइन्छ । यसरी स्वस्थानी व्रतकथा नेपाली जनजीवनसँग नजिकबाट गाँसिएको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा रहेको पाइन्छ ।