सम्झना कपमा पुलिसका नवीता र विनेश च्याम्पियन

सम्झना कपमा पुलिसका नवीता र विनेश च्याम्पियन


ग्लोब नेपाल
0
Shares

काठमाडौं । पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सिंगल्स् तर्फको उपाधि विनेश खनियाँ र नवीता श्रेष्ठले जितेका छन् । शनिबार भएको फाइनलमा नेपाल प्रहरी क्लबका विनेश पुरुष र नवीता महिला सिंगल्समा च्याम्पियन हुन् ।

लैनचौरस्थित, राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा विनेशले भारतको ग्लोबल टेबलटेनिस एकेडेमीका सन्तोष कुमार रमेशलाई ७–११, ११–५, ११–९, १५–१३, १०–१२ र ११–३ को सेटमा पराजित गरे ।

भारतको वाइल्ड कार्डका प्रशन्न कुमार र ग्लोबलका भ्रिसिन बभनका तेश्रो भए । सम्झना ल्याबोरेटरी क्लिनिक प्रालिको मुख्य प्रायोजनमा ललितपुर जिल्ला टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा नौ पटक राष्ट्रिय च्याम्पियन नवीताले कान्तिपुर भ्याली पिङपोङ क्लबकी रविना महर्जनलाई ११–२, ११–३, ११–३ र ११–५ को सोझो सेटमा हराइन् ।

नेपाल प्रहरीकै एलिना महर्जन र कान्तिपुरकी दिया देउलाले तेश्रो स्थान हासिल गरे । विभिन्न ७ स्पर्धा समावेश प्रतियोगिताको टिम इभेन्टतर्फ पुरुषमा ग्लोबल तथा महिलामा प्रहरीले स्वर्ण जित्यो ।

त्यस्तै, भेट्रानको पुरुष सिंगल्स ४० वर्षमाथि गल्कोपाखा समाज सेवाका चन्दन शाही तथा ५५ वर्षमाथि एनसीसीएसका कपुर शर्मा पौडेल पहिलो बने । भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा ज्ञानभैरव डिल्ली बजार टेबलटेनिस क्लबकी इन्दिरा पौडेल पराजुलीले स्वर्ण जितेकी हुन् ।

पुरुष-महिला सिंगल्स तथा टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाए ।भेट्रानमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गरे । सो अवसरमा ४ पटकका राष्ट्रिय च्याम्पियन पूर्व टेबलटेनिस खेलाडी दिगम्बरमान सुवाल ‘लाइफ टाइम एचिभ्मेन्ट’ अवार्डबाट सम्मानित भए ।

पाँच दिन सञ्चालन भएको प्रतियोगितामा २ सय पुरुष र ५६ महिला गरी २ सय ५६ खेलाडी सहभागी भएका थिए ।