फुटबलमा पहिलो पटक सेतो कार्डको प्रयोग

फुटबलमा पहिलो पटक सेतो कार्डको प्रयोग


ग्लोब नेपाल
135
Shares

काठमाडौं । गत हप्ता (२१ जनवरी)मा पोर्चुगलले पहिलो पटक सेतो कार्डको प्रयोग गरेर विश्व फुटबलमा नयाँ इतिहास बनायो । पोर्चुगल वुमन्स कपको क्वार्टरफाइनलमा बेन्फिका र स्पोर्टिङ लिस्बनबीचको खेल चलिहरँदा रेफ्रीले दुवै टिमको स्वास्थ्यकर्मीलाई सेतो कार्ड देखाए । जुन विश्व फुटबलकै लागि पहिलो र नौलो घटना थियो । रेफ्रीले सेतो कार्ड देखाउँदा बेन्फिकाले ३–० को अग्रता बनाइरहेको थियो । र, इस्टाडियो डा लुजमा उपस्थित दर्शकले यसमा सकारात्मक प्रतिकृया जनाए ।

विश्व फुटबलका दर्शकले हालसम्म पहेँलो र रातो कार्डको प्रयोग मात्र देख्दै आएका थिए । सन् १९७० को विश्वकपबाट फुटबलमा देखा परेको रातो र पहेँलो कार्ड पछिल्लो समय खेलको महत्वपूर्ण पाटोसमेत बनेको छ ।

फुटबलमा सेतो कार्डकाे अर्थ

फुटबल समर्थकहरूले सेतो कार्ड नदेख्नुको कारण यसको प्रयोग नै भर्खरैमात्र भएर हो । खेलका दौरान खेलाडी र क्लबले देखाउने आदर्शतम व्यवहार र अनुशासनपूर्ण प्रदर्शनको स्वागत र तारिफका लागि सेतो कार्डको प्रयोग गरिन्छ । खेलमा नैतिक मान्यताको स्तरवृद्धि गर्न सेतो कार्डको प्रयोग सुरु भएको हो ।

पोर्चुगलले पहिलो पटक प्रयोगमा ल्याएको सेतो कार्डसँगै खेल र खेलाडीको मूल्यांकनका लागि अरु प्रयोगहरू पनि कार्यान्वायनमा आएका छन् । कतार विश्वकपमा लामो इन्जुरी समय थपिनु र आघातिक ‘सब्सिच्युसन’ पनि सेतो कार्डसँगै फिफाले ल्याएका नयाँ नियममध्येकै थिए । आघातिक ‘सब्सिच्युसन’ गर्दा कुनै पनि टिमका लागि तोकिएको खेलाडी परिवर्तनको कोटामा कुनै फरक पर्दैन । यो कुनै खेलाडी मैदानमा घाइते हुँदा प्रयोग गर्न पाइन्छ ।

बेन्फिकाले खेलमा ३–० ले अग्रता बनाइरहेको थियो । हाफ टाइम हुनुभन्दा केही समय अघिमात्र डगआउटमा रहेका एक खेलाडीले कमजोर महसुस गरेपछि खेल रोकियो । जसलाई सुल्झाउन दुवै टिमका स्वास्थ्यकर्मी सहयोगका लागि पुगे । अवस्था पुनः सहज बनेपछि रेफ्री क्याटारिना क्याम्पोसले सराहनीय र आदर्शपूर्ण कार्य देखाएका कारण दुवै टिमका स्वास्थ्यकर्मीलाई सेतो कार्ड दिइन् । जसको समर्थकले पनि न्यानो स्वागत गरे ।

बेन्फिकाले स्पोर्टिङ लिस्बनलाई ५–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गर्यो । तर, खेलको क्रममा प्रयोग भएको सेतो कार्ड अहिले विश्व फुटबलमा बहसको विषय बनेको छ । यो खेलमा १५ हजार ३२ समर्थक रंगशालामा उपस्थित थिए । जुन पोर्चुगलको महिला फुटबलको इतिहासमा मैदानमा खेल हेर्न पुगेका अहिलेसम्मकै उच्च दर्शक संख्या हो ।