संकटमा सुदूरपश्चिम सरकार, भोली विश्वासको मत लिने

संकटमा सुदूरपश्चिम सरकार, भोली विश्वासको मत लिने


ग्लोब नेपाल
729
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोली मुख्यमन्त्रीको विश्वासको मत लिने भएका छन् ।

संविधानको धारा १६८ को उपधारा (२) बमो जिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताबीचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लागेका हुन् । 

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । 

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने भएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरुको माग पूरा नभएकाले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताए । उनले भनिन्, ‘हामी विश्वासको मत दिन सक्दैनौं, किनभने हाम्रो बटमलाइनलाई प्रदेश सरकारले सुनुवाइ गर्ने कुनै संकेत दिएको छैन ।’

नागरिक उन्मुक्तिका सातजना प्रदेशसभा सदस्य मंगलबार रेशम चोधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका थिए । कारागारमा चौधरी र सातजना सांसदबीच घण्टौँसम्म छलफल चल्यो । छलफलमा रेशमले आफ्ना सांसदलाई एमाले नेतृत्वको सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिन आग्रह गरेको बताइएको छ । 

नागरिक उन्मुक्तिले विश्वासको मत नदिए नेकपा एमाले नेतृत्वको प्रदेश सरकार ढल्ने लगभग पक्का छ । रावल एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक गरी २९ जना प्रदेसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा विश्वासको मतका लागि मुख्यमन्त्री रावललाई कम्तिमा २७ जना प्रदेशसभा सदस्यको साथ आवश्यक छ ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र एकजना स्वतन्त्र भने विपक्षमा छन् । कांग्रेसका १९ र एकीकृत समाजवादीका चाजना प्रदेशसभा सदस्य छन् ।

बहुमत पुर्‍याउन ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक छ ।