सुदूरपश्चिम प्रदेशसभा बैठक लगातार चौथौंपटक सारेपछि विपक्षी दलको विरोध

सुदूरपश्चिम प्रदेशसभा बैठक लगातार चौथौंपटक सारेपछि विपक्षी दलको विरोध


ग्लोब नेपाल
378
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक बिहीबार दिउँसो ४ बजेलाई सारिएको छ ।

प्रदेश सभाको बैठक लगातार चौथौंपटक सरेको हो । मुख्यमन्त्री रावलले विश्वासको मत लिन सुरुमा बुधवार ११ बजे बैठक आह्वान गरिएको थियो । विश्वासको मत लिन वातावरण नबनेपछि २ घण्टा पछाडि १ बजे बस्ने गरी सारियो । त्यसपछि बस्न नसकेपछि आज १ बजेको लागि बैठक आह्वान गरियो । आज १ बजेको समयमा पनि बैठक बस्न नसकेपछि साँझ ४ बजेसम्मको लागि सारिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जनाए ।

मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने प्रयोजनका लागि बिहीबार प्रदेशसभा बैठक बोलाइएको हो । तर अहिलेसम्म मुख्यमन्त्रीको पक्षमा सदनको बहुमत जुटेको छैन ।

निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग पूरा नभएसम्म मत नदिने अडान कायमै राखेपछि सहमतिको प्रयासका लागि बैठक सारिएको जनाइएको छ । मुख्यमन्त्री रावलले बिहीबार विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ । उनले विश्वासको मत लिन नसकेमा स्वतस् पदमुक्त हुन्छन् ।

सभामुखले बैठडक सारेकामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने विरोध जनाएको छ । संसदीय दलका नेता कमल शाहले सभामुख सरकारको निर्देशनमा चलेको आरोप लगाएका छन् । विपक्षी दल नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले पनि मुख्यमन्त्रीले विश्वासको मत लिने दिन बैठक सार्ने परम्परा नरहे पनि सभामुखले सारेको भन्दै असन्तुष्टि जनाए ।

५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ । नाउपाको साथ नपाउने भएपछि रावललाई विश्वासको मतका लागि ५ सांसद अपुग भएको अवस्था छ । रावललाई अहिले प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका (सभामुख सहित) ११, र राप्रपाका १ गरी २२ सांसदको माथ साथ छ ।

विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवाद)०का ४ र १ स्वतन्त्र सदस्य छन्। एकीकृत समाजवादी र स्वतन्त्र सांसदको साथ पाए नाउपा विनै रावल सरकारले विश्वासको मत पाउने देखिन्छ ।