काठमाडौं । एमालेसहितको सत्ता रुढ गठबन्धन टुट्ने संकेत सुदूरपश्चिम प्रदेश सरकारबाट देखिन सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि राजीनामा बुझाएर बाहिरएका छन् । उनी एमालेबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री रावलको राजीनामासँगै कांग्रेसबाट मुख्यमन्त्री कमलबहादुर शाह मुख्यमन्त्री बनेका छन् । ५२ सदस्यीय प्रदेश संसदमा नेपाली कांग्रेसको १९ जना छन् । विश्वासको मतका लागि उसलाई ८ सांसद पुग्दैन । कांग्रेस सरकारमा सामेल हुन नेकपा एकीकृत समाजवादी पनि तयार छ । उसँग ४ सांसद छन् । थप ४ सांसदका लागि कांग्रेसले अन्य दलको सहयोग लिनुपर्ने हुन्छ ।
एमालेका मुख्यमन्त्रीको बहिर्गमनलाई पुरानै गठबन्धन व्यूताउने पहिलो कदमका रुपमा हेरिएको छ । माओवादी संसदीय दलका नेता खगराज भट्टले संसदलाई अन्योलको बन्दी बनाउन नहुने तर्क गरेका छन् । कांग्रेस सरकारमा सहभागी हुने संकेत उनले दिइसकेका छन् । पुरानै गठबन्धन व्यूताउने पहिलो कदमका रुपमा सुदूरपश्चिम प्रदेश सरकारबाट थालनी भएको अर्थ लगाउन थालिएको छ ।
संविधानको रक्षाका लागि पुरानै गठबन्धन ब्यूताउनुपर्ने देशको आवश्यकता भइसकेको नेपाली कांग्रेस प्रदेश प्रमुख तथा सांसद बीरबहादुर बलायरले बताए । ग्लोब नेपाललाई प्रतिक्रिया दिदै उनले भने, ‘हिजो निर्वाचनमा भएको गठबन्धनका दल तथा थप दलहरु संघीय लोकतान्त्रिक गणतन्त्रको समावेशी संविधान अंगिकार गर्ने दलहरु एकाकार भएर हिड्नुपर्ने राष्ट्रको आवश्यकता भइसक्यो ।’
नेकपा (समाजवादी) का संसदीय दलका नेता दीर्घबहादुर सोडारीले पुरानै गठनबन्धन ब्यूतिने संकेत गरे । आफूहरु कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुने बताउँदै अब बन्ने गठबन्धनमा माओवादी केन्द्रसमेत सहभागी हुने उनको भनाइ थियो ।
निर्वाचनताका कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी नेता खगराज भट्टलाई मुख्यमन्त्री बनाउने वचन दिएका थिए । तर राजनीतिले नयाँ कोर्ष लिएपछि भट्टको मुख्यमन्त्री बन्ने सपना चकनाचुर भयो । अहिले कांग्रेस संसदीय दलका नेता शाह नयाँ मुख्यमन्त्री नियुक्त भइसकेका छन् । उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ । यस अवधिमा महाकाली नदीमा धेरै पानी बगिसकेको हुनेछ भने राष्ट्रिय राजनीतिले नयाँ मोड लिनसक्ने जानकारहरुको विश्लेषण छ ।
प्रतिक्रिया