अमेरिकामा नेपाली चलचित्र ‘द बीस्ट’को निर्माण हुँदै

अमेरिकामा नेपाली चलचित्र ‘द बीस्ट’को निर्माण हुँदै

आम प्रवासीको अमेरिकी सपनाको वास्तविक कथा समेट्ने



लस एञ्जलस,अमेरिका,फेब्रुअरी १४। अमेरिकामा अर्को नेपाली चलचित्र ‘द बीस्ट’ निर्माण हुने भएको छ। यहाँ रहेका नेपाली सिने क्षेत्रका केही व्यक्तिहरु मिलेर यो चलचित्र निर्माण गर्न लागेका हुन्। निर्माण पक्षले दिएको जानकारी अनुसार अहिले ‘द बीस्ट’ को लागि अमेरिकामै रहेका कलाकारहरुको चयन गर्ने कार्य भैरहेको छ। यो चलचित्र विभिन्न भाषामा निर्माण हुन लागेको हो। जसका लागि मूख्यत:नेपाली कलाकारहरुलाई नै समेटिनेछ।
‘द बीस्ट’ को छायांकन अमेरिकाकै विभिन्न शहरमा हुनेछ। खासगरी सुखद भविश्यको आशामा तल्लो बाटो हुँदै दलालमार्फत अमेरिका आउनेहरुको कष्टप्रद यात्राको विषयमा ‘द बीस्ट’को कथा आधारित हुनेछ। चलचित्र दिल श्रेष्ठ र सूर्य एन श्रेष्ठले संयुक्त निर्देशन गर्न लागेका हुन्। सरिता श्रेष्ठ र दिनेश शाह निर्माता रहेको यस चलचित्रको सह-निर्माता बरुण अधिकारी रहेका छन् । निर्देशक सुर्य एन श्रेष्ठ प्रवासबाट बनेको नेपाली ब्यवसायिक सफल चलचित्र ‘लाईफ इन एलए’ का निर्देशक हुन्।
वाईल्ड इन्टरटेनमेन्ट र क्याराभान फिल्म प्रोडक्सन एण्ड फिल्म फेस्टिवलको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण हुनेछ। आगामी जुलाईदेखि यो चलचित्रको छायांकन सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ। निर्देशक दिल श्रेष्ठका अनुसार,चलचित्र हिन्दी,अरेबियन,स्पेनिस र अंग्रेजी भाषामा पनि डबिङ हुनेछ। त्यसैले चलचित्रमा नेपाली कलाकारका साथमा अमेरिकन,भारतीय,पाकिस्तानी,अरेबियन,अफ्रिकन र स्पेनिस कलाकारहरुको समेत अभिनय रहेनछ। ‘अहिले हामी नेपाली कलाकारहरुको छनौट चरणमा छौं, यो मेगा प्रोजेक्टका लागि उत्साहित छौं र हामी आम प्रवासीको अमेरिकी सपनाको कठीन यात्रालाई समेट्दैछौं’ विगत लामो समयदेखि हलिउड नगरी लस एन्जलसमा बसेर व्यवसाय गर्दै आएका र एनआरएन अभियानमा समेत क्रियाशील रहेका निर्देशक श्रेष्ठले भने। श्रेष्ठ एनआरएन अमेरिकाका पूर्व सह-कोषाध्यक्ष र आइसीसी सदस्य समेत हुन् भने उनीद्वारा निर्देशित चलचित्र ‘द ट्रेजन’ अडियन्स र ‘बेस्ट एक्टर’ अवार्ड जित्न सफल भएको थियो ।

यस्तो हुनेछ ‘द बीस्ट’ को कथा
अमेरिका आज पनि धेरैका लागि सपनाको अर्को संसार हो। अवसरका लागि भौंतारिने मानवीय स्वभावको पहिलो रोजाई र गन्तव्य पनि आजसम्म अमेरिका नै हो। तर अमेरिका आउन सोचे सजिलो छ त ? आइसकेपछि पनि यहाँको जीवन सोचे जस्तै सहज र अहिलेको सामाजिक संजालको रंगीन दुनियाँमा देखिने तस्वीर जस्तै रंगीन छ त ? ‘पक्कै छैन, त्यही सोचे जस्तै नभएको अमेरिकाका आम आप्रवासीहरुको साझा समस्यालाई हामीले चलचित्रको कथावस्तुमा समेटेका छौं’ निर्देशक श्रेष्ठले भने। उनका अनुसार, अनेकौं सपना सजाएर सुन्दर भविष्यको आशामा जन्मभूमी त्यागेर पारिवारिक बिछोडमा आँशु बहाउँदै दलालहरुको चक्रव्यूहमा परी अमेरिका आउन चाहनेहरुको संघर्षको विषयलाई चलचित्रको पहिलो भागमा समेटिनेछ। यस क्रममा भारत,दुबई,कोलम्बिया,पनामा र मेक्सिको लगायतका मुलुक हुँदै अमेरिका छिर्न लाखौँको ऋण भार बोकेर भाग्यलाई बन्धकी बनाउंदै अनेक कठीनाई झेल्दै अमेरिका छिर्न खोज्नेहरुको प्रतिनिधि कथा पहिलो भागमा समेटिनेछ।
यसैगरी चलचित्रको दोश्रो भागमा अनेकौं कष्ट र हण्डर खाएर ज्यान बचाउँदै ती सजाएका सपनाहरुलाई आँशु र पीडामा सौदाबाजी गर्दै अमेरिका छिर्ने अन्तिम गन्तव्यको अमेरिका र मेक्सिकोको सिमामा भोगिने समस्या,अमेरिका छिर्न गर्नुपर्ने कष्ट, अमेरिकाको अध्यागमन बिभागमा खेप्नुपर्ने कानुनी अड्चन एवम झमेलाहरुको वास्तविक कथा समेटिनेछ । अर्थात् दिनरात नभनी जंगलै-जंगल अबैधानिक बाटो छिचोल्दै परदेशिएका र ज्यान गुमाएकाहरुको यथार्थ चित्र चलचित्रमा रहनेछ ।
यो चलचित्र प्रवासबाट बनेर प्रवासबाटै आफ्नो लगानी उठाउने र अर्को नेपाली ब्यवसायिक सफल चलचित्र बन्नेमा निर्माण पक्ष ढुक्क छ।