सत्ता गठबन्धन कसैले चाहेर भत्किँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

सत्ता गठबन्धन कसैले चाहेर भत्किँदैन : उपप्रधानमन्त्री श्रेष्ठ



सुर्खेत । नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धन नभत्किने बताएका छन् । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहेका श्रेष्ठले बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग अहिलेको समीकरणलाई बदल्नु माओवादीको प्राथमिकता नभएको उल्लेख गरेका हुन् ।

श्रेष्ठले प्रतिगमनलाई कुनैपनि हालतमा अगाडि बढ्न नदिने, राष्ट्रियताको रक्षा, समृद्धिको लक्ष्य र शान्ति प्रक्रियाको बाँकी कामसहित चारवटा विषय प्रष्ट रहेको बताएका छन् । मन्त्री श्रेष्ठले सबै दलहरूलाई समेट्ने गरी पार्टी अघि बढ्न चाहेको भएपनि गठबन्धन बदल्ने कुरा नरहेको प्रष्ट पारे ।

उनले भने, ‘राष्ट्रपतिको चुनावको विषयमा हाम्रो एउटै भनाई छ, त्यो भनेको प्रधानमन्त्री प्रचण्डलाई सबै पार्टीहरूबाट समर्थन प्राप्त भयो, त्यसका लागि हाम्रा एतिहासिक परिघटना हो । अहिलेको मुलुकाको आवश्यकता राष्ट्रिय सहमतिको स्थितिको सृजना भएको छ । राष्ट्रपति चयन गर्दा त्यो परिस्थितिलाई सम्बोधन गर्न उपयुक्त हुन्छ ।’

श्रेष्ठले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति आवश्यकतामा आफूहरूले जोड दिएको बताए । माओवादी नेतृत्वमा हुँदा अहिलेका राजनीतिक उपलब्धिलाई साधन बनाएर सामाजिक, आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने आगामी कार्यभार रहेको उनले बताए ।