गठबन्धन नरहन पनि सक्छ : अध्यक्ष ओली

गठबन्धन नरहन पनि सक्छ : अध्यक्ष ओली


ग्लोब नेपाल
1.8k
Shares

काठमाडौँ । राष्ट्रपतिबारे माओवादी केन्द्रले आधिकारिक निर्णय गर्ने तयारी गरिरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच लामो भेटघाट भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दुई नेताबीच फागुन २५ मा हुने राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे केन्द्रित रहेर कुराकानी भएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली बिहीबार १० बजे बालुवाटार पुगेका थिए । कुराकानीका क्रममा प्रचण्ड–ओली पूर्व सहमति अनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने र त्यसमा राष्ट्रिय सहमति बनाउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् ।

बालुवाटार स्रोतका अनुसार ओलीको प्रस्तावमा प्रधानमन्त्री प्रचण्डले एमाले, माओवादी वा अरू कुनै दलभन्दा पनि कुन दलमा सहमति बन्छ त्यसको लागि छलफल गरेर अघि बढ्दा राम्रो हुने जवाफ दिएका छन् । प्रधानमन्त्री प्रचण्डको कुरा सुनेपछि अध्यक्ष ओलीले राष्ट्रपतिमा पुस १० मा भएको सहमति स्मरण गराएका थिए ।

‘त्यो सहमतिअनुसार राष्ट्रपतिमा एमालेको दाबी रहिरहन्छ । त्यसका लागि माओवादीले वातावरण तयार गर्नुपर्छ’, ओली निकट स्रोतले भन्यो,‘अध्यक्ष र प्रधानमन्त्रीबीच यस्तै कुरा भएर उहाँ (ओली) बालुवाटारबाट फर्कनुभएछ ।’

पछिल्ला दिनमा राष्ट्रपतिको विषयलाई लिएर माओवादी केन्द्र र एमालेबीच केही दुरी बढेका समाचार सार्वजनिक भइरहेका छन् । एमाले अध्यक्ष ओलीले नै सत्ता गठबन्धन नरहन पनि सक्ने अशंका व्यक्त गरिसकेका छन् ।

आफ्नो पार्टी निकट अनेरास्ववियुको महाधिवेशनलाई गत मङ्गलवार उद्घाटन गर्दै उनले सत्ता गठबन्धन नरहन पनि सक्ने र त्यसका लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । त्यस क्रममा ओलीले गठबन्धन भत्काउन भित्रबाहिरबाट चलखेल भइरहेको बताएका थिए । ओलीको यो अभिव्यक्तिपछि प्रचण्ड र ओलीबीच पहिलो पटक छलफल भएको हो ।