उद्धव पौडेल राप्रपाको उपाध्यक्षमा मनोनित

उद्धव पौडेल राप्रपाको उपाध्यक्षमा मनोनित



काठमाडौं । राप्रपाको उपाध्यक्षमा उद्धव पौडेल मनोनित भएका छन् । राप्रपाको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनलाई उपाध्यक्षमा मनोनयन गरेको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

पौडेल थपिएसँगै उपाध्यक्षको संख्या ८ जना पुगेको छ । राप्रपाको विधानमा उपाध्यक्ष ८ जना रहने व्यवस्था अनुसार रिक्त एक पदमा उद्धव पौडेललाई मनोनित गरिएको प्रवक्ता श्रेष्ठले बताए । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान बमोजिम पौडेललाई उपाध्यक्षमा मनोनित गरेका हुन् ।

राप्रपाका उपाध्यक्षमा अब पौडेलसहित विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशनी कार्की, रवीन्द्र मिश्र, मुकुन्द श्याम गिरी र हेमजंग गुरुङ रहेका छन् । जसमा ४ जना निर्वाचित हुन् भने अरु मनोनित हुन् ।