नामिबियामाथि नेपालको सानदार जीत

नामिबियामाथि नेपालको सानदार जीत

आसिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५, कुशल मल्लले ६२ र कप्तान रोहित पौडेलले ३९ रनको योगदान, सन्दीपले लिए ३ विकेट


ग्लोब नेपाल
567
Shares

काठमाडाैं । आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेट अन्तर्गत नेपालले लगातार तेस्रो जित निकालेको छ । यसअघि हिजो स्कटल्याण्ड र फागुन २ गते नामिबियालाई हराएको थियो । आज तेस्रो जीत दर्ता गर्ने क्रममा नेपालले नामिबियालाई नै ३ विकेटले हराएको हाे ।

जितका लागि पाएको २७५ रनको लक्ष्य नेपालले ४७ दशमलब ३ ओभरमा ७ विकेटको क्षतिमा पुरा गर्यो । जसमा आसिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५, कुशल मल्लले ६२ र कप्तान रोहित पौडेलले ३९ रनको योगदान गरे ।

आसिफले ९८ बलमा ८ चौका र २ छक्काको सहयोगमा ८१ रन बनाए । आसिफले ६२ बलमा अर्धशतक पूरा गरेका थिए । आसिफको नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा छैटौं अर्धशतक हो ।

ज्ञानेन्द्रले ७४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ६५ रन बनाए । ज्ञानेन्द्रले ६४ बलमा अर्धशतक पूरा गरेका हुन् । ज्ञानेन्द्रको यो नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा सातौं अर्धशतक हो । मल्ल यस अर्धशतकसँगै नेपालका लागि सर्वाधिक धेरै अर्धशतक बनाउने क्रिकेटर बनेका छन् ।

कुशलले ४१ बलमा ४ चौका र ४ छक्काको सहयोगमा अर्धशतक प्रहार गरेका थिए । एकदिवसीय अन्तराष्ट्रियमा कुशलको यो तेस्रो अर्धशतक हो । ९ रन बनाउँदा पहिलो विकेट गुमाएको नेपालका लागि दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको साझेदारी गरे ।

नेपालको लागि पुर्व कप्तान मल्ल तथा ओपनर शेखबीचमा नेपालको एकदिवसीय अन्तराष्ट्रियको नै सबैभन्दा ठूलो साझेदारी गरेका छन् । उनीहरुका बीचमा दोस्रो विकेटका लागि १ सय ३९ रनको कीर्तिमानी साझेदारी भएको हो ।

यस अघि गत मंगलबार नै नामिबियाविरुद्धको खेलमा कुशल भुर्तेल र रोहित कुमार पौडेलकाबीचमा तेस्रो विकेटका लागि १ सय ३३ रनको साझेदारी भएको थियो । कप्तान रोहित पौडेल ४३ बलमा ३९ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिए । यसका साथै विश्वकप लिग टूमा सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन् । ५० विकेट पूरा गर्ने उनी समग्रमा तेस्रो तथा नेपालका पहिलो खेलाडी हुन् । नेपालले अन्तिम खेलमा मंगलबार स्कटल्याण्डसँग खेल्नेछ ।

अंक तालिका

स्कटल्यान्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।

नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीन टोली सोझै ग्लोबल छनोट खेल्नेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।