सत्ता समीकरणको जन्मकुण्डलीमै एमालेको राष्ट्रपति हुने लेखिएको छ : ओली

सत्ता समीकरणको जन्मकुण्डलीमै एमालेको राष्ट्रपति हुने लेखिएको छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पद कसले पाउने भन्ने पहिले नै तय भएको बताएका छन् । आफ्नो पार्टीले उठाउने उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले समेत समर्थन गर्ने उनले दाबी गरेका छन् ।

विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले आगामी फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्ने पनि बताएका हुन् ।

ओलीले भने, ‘राष्ट्रपति को हुन्छ पहिले नै तय भएको छ । अहिलेको समीकरण जन्मँदा त्यसको जन्मकुण्डलीमा नै लेखेर आएको छ । यसमा माओवादीले साथ नदिने सम्भावना छैन । त्यसको परिकल्पना पनि नगर्नुहोला ।’ माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले त्यस्तो सहमति नभएको अभिव्यक्ति दिएको बारे ओलीले भने, ‘सबैसँग कहाँ सहमति हुन्छ ? सबै नेता कार्यकर्तासँग कहाँ सहमति गर्दै हिँडिन्छ ?’

राष्ट्रपतिमा सबैको सहमति हुनु पर्छ भन्ने आवाज पनि उठेको छ नि भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘सही कुरा हो, हामीले उम्मेदवार उठाउँछौं, सबैको सहमति हुनुपर्छ ।’