राष्ट्रपति निर्वाचनबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै

बैठक अपरान्ह साढे ४ बजे बस्ने



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालाय पेरिसडाँडामा आज अपरान्ह साढे ४ बजे बैठक बस्ने भएको छ ।

बैठकमा अहिलेसम्म भएका वार्ता र छलफलबारे रिपोर्टिङ हुने पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिएका छन् । ‘अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल अहिले पोखरामा छन् । पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन उनी पोखरा गएका उनी फर्किएपछि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्नेछ ।

राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता साझेदार दल माओवादी केन्द्र र नेकपा एमालेका नेताहरूको भिन्न मत छ। नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्नुपर्ने अडान लिएको छ । उसले सहमति नभए एमालेलाई साथ दिन नसक्ने स्पष्ट पारेको छ ।

एमालेले भने पुस १० को सहमतिबाट पछि नहट्ने भन्दै आफ्नो उम्मेदवार बाहेकमा सहमति हुन नसक्ने अडान राखेको छ ।