थारु आयोगको सदस्यमा अमेरिकी नागरिक

थारु आयोगको सदस्यमा अमेरिकी नागरिक



काठमाडौं । अमेरिकी नागरिकलाई थारु आयोगमा सदस्य बनाइएको छ । अमेरिकाको स्थायी बसोबास अनुमति (ग्रीनकार्ड) प्राप्त र नेपाली नागरिकता दुवै भएकी शान्ति मोदीलाई तत्कालीन केपी ओली सरकारले आयोगमा सदस्य बनाएको हो ।

लामो समयदेखि अमेरिकामै बसोबास गरिरहेकी शान्तिलाई नेपाल बोलाएर आयोगको सदस्य बनाइएको छ । तपाईंसँग अमेरिकी ग्रीनकार्ड र नेपाली नागरिकता दुवै छ नि भन्ने जिज्ञासामा उनले भनिन्– ‘म नेपाली नागरिक हुँ, नेपाली नागरिककै हैसियतमा नियुक्त भएकी हुँ ।’ दोहोरो नागरिकता प्रमाणित भयो भने के गर्नुहुन्छ ? भन्ने सवालको जवाफमा उनले भनिन्, ‘म नेपालको नागरिक हुँ, मसँग त्योभन्दा बढी जवाफ छैन ।’

सामान्यतः अमेरिकामा ग्रीनकार्ड लिएको चार वर्ष ७ महिनापछि अमेरिकी नागरिकताका लागि आवेदन दिन पाईन्छ । अमेरिकी नागरिकता र पासपोर्ट प्राप्त गरेपछि जुनसुकै देशमा बसेर आम्दानी गरे पनि अमेरिकी सरकारलाई कर बुझाउनुपर्ने अमेरिकी अध्यागमनसम्बन्धी विज्ञ सञ्जीव अधिकारीले बताए ।

दोहोरो नागरिकता वा ग्रीनकार्ड प्राप्त व्यक्तिलाई निर्वाचित, मनोनित र नियुक्ति गर्न संविधानले नै दिँदैन । संविधानको धारा २९१ मा नियुक्तिका लागि योग्य नहुने व्यवस्था गरेको छ । उपधारा (१) मा भनिएको छ– ‘यस संविधानमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपालको नागरिक यस संविधान बमोजिम निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित, मनोनीत वा नियुक्तिको लागि योग्य हुने छैन । तर त्यस्तो विदेशको स्थायी आवासीय अनुमतिपत्र त्यागेको व्यक्तिलाई कम्तीमा तीन महिनाको अवधि व्यतित भएपछि त्यस्तो पदमा निर्वाचित, मनोनीत वा नियुक्त गर्न बाधा पर्ने छैन ।’

अमेरिकाको ओहायो राज्यमा होटल व्यवसाय गरिरहेका हेमनारायण चौधरीसँग विवाह गरेकी मोदी दम्पतीको एक छोरा पनि अमेरिकामै छन् । सुनसरी रामधुनी नगरपालिका–५ झुम्का जेल नजिकै स्थायी घर भएका हेमनारायणले मोरङ बुढीगंगा–६ तिलाखेकी शान्तिसँग प्रेम विवाह गरेका हुन् । बुढीगंगा नहर पुनर्निर्माणको समय उनीहरुबीच माया प्रेम बसेको थियो ।

परियोजना सकिएपछि ओभरसियर हेमनारायण दुबइ गएका थिए । दुबइबाटै उनी अमेरिका छिरेका हुन् । पछि शान्तिलाई पनि उनले अमेरिकै बोलाए । उनी लामो समय अमेरिकामै बसिन् । उनले अमेरिकी कमाइ नेपालमा पनि लगानी गरेकी छिन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीको दुहबीस्थित फरवार्ड सपिङ कम्प्लेक्समा शान्तिको पनि हिस्सा रहेको बताइएको छ ।

थारु आयोगमा अध्यक्षसहित पाँच सदस्य रहेका छन् । विष्णुप्रसाद चौधरी अध्यक्ष हुन् भने सुवोधसिंह थारु, भोलाराम चौधरी, उमाशंकरप्रसाद चौधरी र शान्ति मोदी सदस्य हुन् ।