बालुवाटारमा देउवा र प्रचण्डबीच पुरानो सत्ता गठबन्धन ब्युँताउने विषयमा छलफल जारी

बालुवाटारमा देउवा र प्रचण्डबीच पुरानो सत्ता गठबन्धन ब्युँताउने विषयमा छलफल जारी



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहदुर देउवा बालुवाटार पुगेका छन् । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितसँगको बैठकपछि देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

बालुवाटामा आसन्न राष्ट्रपति चुनाव र पुरानो सत्ता गठबन्धन ब्युँताउने विषयमा छलफल हुने नेताहरू बताउँछन् । कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरू प्रधानमन्त्रीको निवास पुगिसकेका छन् ।

प्रधानमन्त्री आफैँले लिने देउवाको अडान पछि पुस १० मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओली निवास पुगेर त्यसै दिन प्रधानमन्त्री नियुक्त भएका थिए । तर, त्यसको केही दिनदेखि नै कांग्रेस–माअ‍ोवादी वार्ता सुरु भएपछि कांग्रेसले पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो ।

त्यसयता निरन्तर वार्तामा रहेका यी दल अहिले पुरानो गठबन्धन ब्युँताउने पहलमा लागेका छन् । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बुधबारको पार्टी सचिवालय बैठकमा पुरानो गठबन्धन ब्युँताउने र ओली बाहेककै गठबन्धनलाई निरन्तर दिनेगरी पहल गर्ने बताएका थिए ।

कांग्रेस सभापति देउवाले राष्ट्रपति निर्वाचनमै लक्षित भएर बुधबारमात्रै लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी र नेकपा एसका नेताहरूसँग छुट्टा–छुट्टै छलफल गरेका छन् ।

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी दर्ता हुँदैछ । दलहरु त्यसअघि नै सहमति गर्ने गरी छलफलको दौडधुपमा छन् ।