कांग्रेस नेतृत्वको पुरानो गठबन्धन दलको बैठक साँझ ६ बजे बस्ने

कांग्रेस नेतृत्वको पुरानो गठबन्धन दलको बैठक साँझ ६ बजे बस्ने



काठमाडौं । कांग्रेस नेतृत्वको चुनावअघिको पुरानो गठबन्धनमा आवद्ध राजनीतिक दलहरूको बैठक बस्ने भएको छ । बिहीबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएकाे छ ।

‘अहिलेसम्म ६ बजेका लागि भनेर बैठक बस्ने तयारी गरिएको छ,’ स्रोतले भन्यो, ‘केही कार्यक्रम र भेटघाट सकेपछि ४ दलका शीर्ष नेताको बैठक बस्ने छ ।’

त्यस अगाडि नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको बैठक बस्दैछ । दिउँसो ३ बजे बालुवाटरमा तीन पार्टीको बैठक बस्न लागेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए ।

राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवार टुंगो लगाउन राजनीतिक दलका शीर्ष नेताहरू दौडधुप गरिरहेका छन् । राष्ट्रिय सहमति गर्ने बताएका प्रधानमन्त्री प्रचण्ड एमालेले आफ्नो उम्मेदवार हुनुपर्ने अडान राखेसँगै पुरानो गठबन्धनका नेताहरूसँग छलफलमा बसेका हुन् ।

आजै मात्र सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग प्रधानमन्त्रीले डेढ घन्टा छलफल गरेका थिए ।

छलफलपछि बाहिरिँदै उनले १३ गतेसम्म समय भएकोले अहिले फाइनल निर्णय नभइसकेको बताएका थिए।

अध्यक्ष नेपालले पनि विभिन्न अप्सनमाथि छलफल भइरहेको बताएका थिए ।