माधव नेपाल र ईश्वर पोखरेलबीच राष्ट्रपति र नेकपा ब्युँताउनेबारे छलफल

माधव नेपाल र ईश्वर पोखरेलबीच राष्ट्रपति र नेकपा ब्युँताउनेबारे छलफल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ ।

भेटका लागि पोखरेल नेपाल निवास कोटेश्वर पुगेका थिए । भेटमा राष्ट्रपति र तत्कालीन नेकपा ब्युँताउनेलगायतका विषयमा छलफल भएको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए ।

राष्ट्रपतिको उमेदवारी मनोनयका लागि दुई दिन बाँकी रहँदा नेताहरूको दौडधुप बढेको छ ।

सत्ता गठबन्धन टुट्ने स्थिति आएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राखेका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बनेको भए पनि पछि नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले दिएको आदेश अनुसार नेकपा विघटन भएर दुई पार्टी पहिल्यैकै रुपमा फर्केका थिए ।

त्यसपछि नेकपा एमालेबाट अलग भएर नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो ।