पुरानो गठबन्धन ब्युँताउन भोलि चार दलको निर्णायक बैठक बस्दै

पुरानो गठबन्धन ब्युँताउन भोलि चार दलको निर्णायक बैठक बस्दै



काठमाडौं । राष्ट्रपतिको निर्वाचन र पुरानो गठबन्धन ब्युँताउनेबारे भोलि निर्णायक छलफल हुने भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबीच भोलि बिहान बालुवाटारमा बैठक बस्दैछ । कांग्रेससँग छलफल भएपछि चुनावअघिको पुरानो गठबन्धन ब्यूँतिनेबारे निर्णय हुने बताइएकाे छ ।

कांग्रेस महामन्त्री गगन थापाकाअनुसार भोलि बालुवाटारमा बस्ने बैठक निर्णायक हुने छ । कांग्रेस नेताहरू र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार राति भएको छलफलमा पुरानो गठबन्धन ब्युँताउने मौखिक सहमति भएको बुझिएको छ ।

राष्ट्रपतिको निर्वाचन र पुरानो गठबन्धन ब्युँताउनेबारे नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच बसेकाे बैठक सकिएको छ । सिंहदबारमा बसेको बैठकपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले छलफल जारी रहेको र भोलि फेरि बस्ने सहमति भएको बताए ।

जसपाका नेता राजेन्द्र श्रेष्ठकाअनुसार तीन दल मिलेर कसरी जाने भन्ने विषयमा छलफल भएकाे थियाे । उनले भने- ‘तीन दलबीच छलफल त भइरहेकै छ । कांग्रेससँग बसेपछि टुंगिन्छ ।’