४ दलको बैठक पुनः साँझ ५ बजे बस्नेगरी स्थगित

४ दलको बैठक पुनः साँझ ५ बजे बस्नेगरी स्थगित

आ–आफ्नो दलमा छलफल गरेर टुंगोमा पुग्ने



काठमाडौं । चार दलको निर्णायक भनिएको बैठक आज साँझ ५ बजेसम्मकालागि स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब साढे ३ घण्टासम्म बसेको बैठक पुन बस्नेगरी सकिएको हो । राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न निर्वाचन अघिका गठबन्धन दलहरु नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको बैठक बसेको थियो ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी थिए भने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव बैठकमा सहभागी थिए ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बैठक सकारात्मक भएको जानकारी दिए । तर, दलहरुले आन्तरिक छलफल गर्नुपर्ने भएकाले कुनै निष्कर्षमा पुग्न नसकिएको बताएका छन् । महामन्त्री थापाले भने– ‘५ बजे पुनः बैठक बस्छौं । अहिले हाम्रो ध्यान राष्ट्रपतिकै विषयमा हो ।’ ‘राष्ट्रपतिमै केन्द्रित भएर कुरा गर्दा अन्य विषयहरु पनि आउँछन्’, उनले भने, ‘अहिले केही विषय मिल्न बाँकी छ । आज हामी टुंग्याउँछौँ ।’

प्रचण्डले आजै सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि वार्ता गर्ने बताएका छन् । नेपाली कांग्रेसले राष्ट्रपति उम्मेदवार तय गर्न भोलि बिहान साढे ८ बजेलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेकाे छ । त्यस्तै नेकपा एमालेले पनि भोलि बिहान ९ बजेलाई पार्टी सचिवालयको बैठक बोलाएको छ ।