जसपालाई उपराष्ट्रपति निश्चित !

जसपालाई उपराष्ट्रपति निश्चित !



काठमाडौं । जनता समाजवादी पार्टी नेपालले उपराष्ट्रपति पाउने सहमति भएको छ । बालुवाटारमा बसेको निर्वाचन अघिका गठबन्धन दलहरु नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको बैठकपछि पत्रकारसँग कुरा गर्दै जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिने सहमति भएको बताएका छन् ।

चुनावअघिकै पाँच दलीय गठबन्धन ब्युँताउने सहमतिअनुसार पावर शेयरिङका आधारमा जसपालाई उपराष्ट्रिपति दिने लगभग निश्चित भएको हो ।

नेता श्रेष्ठले भने, ‘हामीले उपराष्ट्रपति पहिलादेखि नै दाबी गर्दै आएका हौं । त्यो विषयमा आजको बैठकमा लगभग सहमति भयो । ठोस निर्णय बेलुकाको बैठकले गर्छ ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनेदेखि जसपाले उपराष्ट्रपतिका लागि बार्गेनिङ गर्दै आइरहेको थियो । उपराष्ट्रपतिमा सहमति नभएको कारण जसपा सरकारमा पनि सहभागी भएको थिएन । जसपाले उपराष्ट्रपति पाउने भएपछि दुईटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने बताइएकाे छ ।

त्यसैगरी, राष्ट्रपतिमा काँग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले दाबी गरेको छ ।