आफ्नै कुरा

ग्लोवनेपाल डटकम (globenepal.com) अनलाइन मिडियाका हिसावले नयाँ होइन । अमेरिकामा सन् २०१० मे बाट यसको शुरुवात भएको हो । मेरिल्याण्ड राज्यमा दर्ता लिएर शुरु गरिएको यो अनलाइन बाल्टीमोरमा कार्यालय राखेर सञ्चालन हुदै आएको हो । बीचमा केही प्राविधिक कारणले गर्दा यो मिडिया डटकम(.com) को सट्टा डटनेट (.net) मा सञ्चालन हुदै आएको थियो । बिश्वभर रहेका नेपाली भाषीलाई लक्षित गरिएको यो मिडिया अब नेपालमा दर्ता लिएर नेपालमै कार्यालय राखेर नयाँ ढंगबाट सञ्चालन गर्ने सोचका साथ फेरि डटकममा हामी उपलब्ध भएका छौं ।

हाम्रो उद्देश्य राजनीतिक रुपमा लोकतन्त्रको रक्षा हो भने व्यावसायिक रुपमा नागरिकको सूचनाको अधिकारको सुरक्षा हो । लोकतन्त्र विना प्रेस स्वतन्त्रता सम्भव छैन । प्रेस स्वतन्त्रता विना स्वतन्त्र सूचना प्रवाह सम्भव हुदैन । यो मान्यतामा हामीमा कुनै द्विविधा छैन । त्यसकारण जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि हामी लोकतन्त्रको पहरेदारका रुपमा सधैं उभिइरहने छौं । यसो गरिरहँदा कुनै राजनीतिक दलप्रतिको निकटता झल्कन पुग्यो भने त्यो संयोग मात्र हुने छ, हाम्रो आग्रह हुने छैन । हामी कसैका प्रति अनाहक पूर्वाग्रह राख्दैनौं तर लोकतन्त्रका नाममा अधिनायकवादी र सर्वसत्तावादी चरित्र कसैले प्रस्तुत गर्छ भने त्यसको भण्डाफोर गर्नु हामी आफ्नो कर्तव्य ठान्नेछौं ।

सूचना हरेक नागरिकको नैसर्गिक अधिकार हो । कुनै देशको संविधान वा कानूनले यसको प्रत्याभूत गरे वा नगरे पनि अब सूचनालाई रोक्न सम्भव छैन । बिश्वको जुनसुकै कुनाका घटना परिघटना अब सेकेण्डभरमा अन्तर्राष्ट्रिय जगतले एकसाथ पाउन सक्छ । यो यथार्थलाई कतिपय लोकतान्त्रिक मुलुकले पनि बिर्सन खोज्छन् । पुरातन मान्यता र सोचमा परिवर्तन आउन नसक्नु राज्य सञ्चालकको विडम्वना हो । अन्ततः सूचना कसैले रोकेर रोकिने विषय होइन । रोक्न खोजिएका सूचना प्रवाह गर्ने दायित्व हाम्रो हो । यो प्रयत्नमा हामी निरन्तर लागिरहने छौं ।

सूचना सम्प्रेषण गरिहँदा नेपालमा रहने मात्र नेपाली हुन भन्ने मान्यताबाट माथि उठेर भौगोलिक विविधतालाई समेट्ने हाम्रो प्रयास हुनेछ । आज हामी विश्वका कुनाकुनासम्म फैलिएका छौं र जहाँ पुगेका छौं हाम्रो संस्कृति, परम्परा, भाषा, साहित्य र रीतिरिवाजलाई साथै लिएर पुगेका छौं । यसले हाम्रो नेपाली मन र नेपालीपनलाई विश्वभर प्रवद्र्धन गर्न सघाउ पुगेको छ । हामी जहाँ छौं, हाम्रो आफ्नोपनलाई जोगाएर राख्न सकौं,आपसी सद्भाव र स्नेह बाँड्दै भाइचारा सम्बन्धलाई अझ प्रगाढ बनाउन सिकौं । हामी पनि तपाईहरुसँगै हुनेछौं ।

सूचनाको बजार प्रतिस्पर्धी बनेको छ । सूचना प्रविधिको विकासले हिजो भनिने गरेको ग्लोबल भिलेज अब ग्लोवल ह्याण्डमा रुपान्तरण भएको छ । सूचना प्रविधिको यो द्रूततर विकासले जो जहाँ भए पनि हामी सधैं साथ साथ छौं भन्ने अनुभूति दिलाएको छ । सूचनाको बजारमा प्रतिस्पर्धा गर्दै गर्दा गलत सूचना प्रवाह हुने खतराप्रति हामी सचेत छौं । हतारमा काम गरेर फुर्सदमा पछुताउने स्थिति नबनोस् भन्ने हाम्रो प्रयत्न हुनेछ ।