हरित अभियानका लागि विद्यार्थीको हस्ताक्षर  

हरित अभियानका लागि विद्यार्थीको हस्ताक्षर  



महोत्तरी । गत शुक्रबार कुटुम्ब ब्याण्डको धुनमा बर्दिबासस्थित देउराली उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरु छमछमी नाचिरहेका थिए । ब्याण्डका सदस्यहरुले गीतसहित बजाएका समधुर धुनहरुले स्थानीय अन्य दर्शकहरुलाई पनि नाच्न उत्तिकै उत्साहित गरिरहेको थियो ।

विद्यालयको बायाँतर्फ हस्तलिखित एउटा ब्यानरमा विद्यार्थीहरुको ठूलो भिड थियो । हातमा कलम लिएका विद्यार्थीहरुले उक्त ब्यानरमा पालैपिलो हस्ताक्षर गरिरहेको दृश्य देख्न सकिन्थ्यो ।

ब्यानरको माथि ठुलो अक्षरमा लेखिएको थियो– सफा हरियो र सुन्दर भविष्यको लागि हामी बालबालिकाहरु निरन्तर लाग्न प्रतिबद्ध छौँ । 

यहि प्रतिबद्धता जनाउन चलाइएको हस्ताक्षर अभियानको लागि विद्यार्थीहरु हस्ताक्षर गरिरहेका थिए । जेनेरेसन होप नामक यो अभियानमा सेभ द चिल्ड्रेनले देउराली उच्च माध्यामिक विद्यालयजस्तै मधेश प्रदेशका २१ वटा विद्यालयमा यस्तै अभियान चलाइसकेको छ ।

संगीतको माध्यमबाट बालबालिकालाई सिकाउने र जेनेरेसन होप अभियानअन्तर्गत हरित अभियानमा सहभागी गराउने उद्देश्य सेभ द चिल्ड्रेनको छ । यही उद्देश्यअन्तर्गत अभियान चलाएको १ वर्षमा नै बालबालिकाहरुले १ लाख बिरुवा रोपिसकेको  कार्यक्रम संयोजक सुप्रिहा श्रेष्ठले जानकारी दिइन् ।

बर्दिबासस्थित देउराली उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरु

पछिल्लो समय जलवायु परिवर्तनको असर बढिरहेको बेला यसको न्यूनीकरणका लागि विभिन्न अभियान चलाइएको छ । फरक–फरक संस्थाहरुले जलवायु परिवर्तनले भविष्यमा पार्न सक्ने असरलाई मध्यनजर गर्दै विद्यालयमा मात्र हैन समुदायस्तरमा समेत सक्रियता देखाएका छन् ।

जागरणको सुरुवात विद्यालयका बालबालिकाबाट हुन्छ भन्ने महसुस गरि सेभ द चिल्ड्रेनले मात्र हैन बर्दिबासमा नै सामुदायिक विकास तथा पैरवी मञ्च र आड्रा नेपालले पनि निकै भुमिका निर्वाह गर्दै आएको छ ।

जलवायु परिवर्तनको लागि स्थानीय पहल (लिरिक परियोजना) ले त धनुषा र महोत्तरीका ६ वटा पालिकाहरुमा अतिरिक्त पाठयक्रमको नै सुरुवात गरेको छ ।

हप्ताको शुक्रवार पढाइ हुने उक्त पाठयक्रम महोत्तरीको बर्दिबास, गौशाला, भंगाहा, औरही नगरपालिका,  धनुषाको मिथिला नगरपालिका र बट्टेस्वर गाउँपालिकामा पढाइ भइरहेको उक्त संस्थाका अध्यक्ष नागदेव यादवले जानकारी दिए ।