लागुऔषधसहित १३ जना पक्राउ

लागुऔषधसहित १३ जना पक्राउ



काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । काठमाडौंकाे नागार्जुन नगरपालिका-४ सितापाइला चोकबाट अवैध लागुऔषध गाँजा १ किलो २ सय २ ग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दार्चुला मालिकार्जुन गाउँपालिका-३ घर भएका रवीन्द्र धामी र चितवन पर्साखैरेनी घर भएका २७ वर्षीय राजेन्द्र मगर रहेका छन् । प्रहरी बिट सितापाइलाबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२-०३७ प २२४२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

मकवानपुरकाे राक्सीराङ गाउँपालाका-८ गोठडाडाँ बस्ने ४८ वर्षीय ठाकुराम मोक्तान र २५ वर्षीय प्रेम घलानलाई अवैध लागुऔषध गाँजा ३ सय ४५ किलो ४ सय ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । अवैध लागुऔषध गाँजाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूको घर जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

 यसैगरी मकवानपुरकाे मनहरी गाउँपालिका-९ ज्यामिरेस्थित सडक किनाराबाट अवैध लागुऔषध गाँजा १५ किलो प्रहरीले बरामद गरेको छ ।  ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उक्त गाँजा झाडीमा प्लाष्टिकले बेरेको अवस्थामा फेला पारी बरामद गरेको हो ।

कपिलवस्तुकाे शिवराज नगरपालिका-९ बिचगौरी बस्ने २७ वर्षीय मेघराज घर्ति मगरलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १६ किलोग्रामसहित प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुन्दरीडाडा र वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनको कोठामा तलासी गर्दा झोला र सुटकेसमा लुकाई राखेको उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका-३ गण्डकी लाईन बस्ने १९ वर्षीय श्याम बैगारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी सुर्खेतकाे भेरिगंगा नगरपालिका-१० तोलीखोलास्थित सडकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ  १ ग्राम १० मिलिग्रामसहित सिम्ता गाउँपालिका-१ खनेटा घर भई बीरेन्द्रनगर नगरपालिका-१० खजुरा बस्ने २० वर्षीय आर्यन रानालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले बा.४ ख ५३२८  नम्बरको फोर्स गाडीलाई जाँच गर्दा गाडीमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

कैलालीकाे गोदावरी नगरपालिका-२ पहाड रोडस्थित नेचुरल होटल नजिकबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डोटी जोरायल गाउँपालिका-४ बस्ने ३१ वर्षीय भिम बहादुर मडै र सोही गाउँपालिका-२ बस्ने २५ वर्षीय उद्धव बहादुर विक रहेका छन् ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्दा भिमबहादुरको साथबाट १ ग्राम ७ सय मिलिग्राम र उद्धव बहादुरको साथबाट १ ग्राम ३ सय  मिलिग्रामसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  

मोरङकाे सुनवर्षी नगरपालिका-२ पिपल चोकबाट अवैध लागुऔषध ब्राउनसुगर १ ग्राम ३० मिलिग्राम, नगद ४२ हजार ६ सय रूपैयाँ र डिजिटल तराजु १ थानसहित सोही नगरपालिका-५ टकुवा बस्ने २८ वर्षीय उपेन्द्र साहलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी अमरदहबाट खटिएको प्रहरीले प्र.०१-०२-०४८ प ३९४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहले खल्तीमा लुकाई ल्याएको ब्राउनसुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

रूपन्देहीकाे देवदह नगरपालिका-४ पिपरैया बस्ने २९ वर्षीय दुर्योधन चौधरीलाई अवैध लागूऔषध गाँजा करिब ९ किलोग्राम र नगद १२ हजार ३ सय ६० रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै  घरमा गाँजा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको   हो । 

बाराकाे निजगढ नगरपालिका-११ स्थित वन कार्यालय अगाडिबाट अबैध लागूऔषध गाँजा करिब ८ किलोग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-२१ बस्ने २६ वर्षीय सन्तोष चौधरी र ३१ वर्षीय फयास मियाँ रहेका छन् । अस्थाई प्रहरी प्रोष्ट रतनपुरबाट खटिएको प्रहरीले डम्मरपुरबाट रतनपुरतर्फ आउँदै गरेको ना.१ ह ६९०१ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी अटोमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।