जनतालाई धोका दिनेलाई देशले विस्तारै चिन्छ : ओली

जनतालाई धोका दिनेलाई देशले विस्तारै चिन्छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई धोका दिनेलाई देशले विस्तारै चिन्दै जाने बताएका छन् । राजनीतिक आन्दोलनमा घाइते भएकालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जनतामा भ्रमण छर्नेलाई पनि समाजले चिन्ने बताए ।

आफूले विगतमा पनि विभिन्न आन्दोलनका घाइतेलाई उपचार गर्न आह्वान गर्दा धेरैतिरबाट रोकिएको बताए । उनले भने, ‘मैले घाइतेहरूलाई आउनुहोस् सरकारले उपचार गराउँछ भने, तर धेरै मानिसहरूलाई रोकियो । विभिन्न कारणले रोकियो। जे होस् यसरी रोक्ने काम क्रमशस् अन्त्य हुँदैछ ।’

एमाले अध्यक्ष ओलीले देशका लागि लड्ने, योगदान र बलिदान दिनेको महत्व कम नहुने बताए । ओलीले भ्रमपूर्ण सपना देखाउनेको नियत खराब भएपनि अरुको खुसीका लागि लड्नेको नियतमा कहिल्यै खोट नहुने बताए । उनले भने, ‘केही मान्छे आफ्नो स्वार्थ र इगोका लागि भ्रमपूर्ण लडाइँ लडाइरहेको हुन्छ । ती कुरा साँचो होइनरहेछ भन्ने पछि बुझिन्छ । त्यो बुझ्दा धेरै समय ढिलो भइसकेको हुन्छ । धेरैले ज्यान गुमाएको हुन्छ । अंगभंग भइसकेको हुन्छ । उनीहरूको सुन्दर जीवन सुन्दरतातर्फ जानबाट रोकिसकिएको हुन्छ । यस्तो कुरा पछि धोका रहेछ भन्ने थाहा हुन्छ । यस‍्ता जतिसुकै धोका भए पनि सहादतको महानता कम हुँदैन । योगदान र बलिदानको महत्व कम हुँदैन ।’

आफूले ५८ वर्षको राजनीतिक जीवनमा यस्ता धेरै कुरा सुन्दै र देख्दै आएको बताउँदै आफैँसँग जेल बसेका साथीलाई पनि जेलबाट निकालेर गोली हानी हत्या गरेको बताए ।