अभिनेता पल शाहलाई उच्च अदालतबाट सफाइ, भोलि रिहा हुने

अभिनेता पल शाहलाई उच्च अदालतबाट सफाइ, भोलि रिहा हुने



काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।

जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गर्दै सफाइ दिएकाे हो । यो फैसलासँगै पल शाह एक वर्षपछि भाेलि जेलमुक्त हुने भएका छन् । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले गत भदौ २० गते शाहलाई बलात्कार अभियोगबाट सफाइ दिएको थियो । उक्त इजलासले शाहलाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

उक्त फैसलाविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय र अभियुक्त शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।उच्च अदालतका कायममुकायम मुख्यन्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा आइतबार बहस भएको थियो । बहसमा नाबालिगका तर्फबाट उच्च सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता रामप्रसाद अधिकारीले बहस गरका थिए भने अभियुक्तका तर्फबाट बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, कृष्णबहादुर थापा, अधिवक्ता माधव घिमिरे, गणेशप्रसाद अधिकारी र जनकराज ढुङ्गानाले बहस गरेका थिए ।