राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि फागुन १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने जनाएकाे छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको हो । उक्त आचारसंहिता, भदौ १३ गते नै नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ ।

गत माघ १६ गतेको निर्णय अनुसार आयोगले यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । संवैधानिक व्यवस्था राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता रहेको निर्वाचक मण्डल रहने छ । स्वीकृत कार्यक्रमबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भई यही फागुन १३ गते उम्मेदवारीको मनोनयन पत्र दर्ता भइसकेको छ भने आज साँझ ४ बजेसम्म उम्मेदवारले मनोनयन पत्र फिर्ता लिन सक्ने र तत्पश्चात् आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

आयोगले निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम गर्न सबै पक्षलाई आग्रह गरेको छ ।