राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले गरिन् राष्ट्रपति भण्डारीको आलोचना

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले गरिन् राष्ट्रपति भण्डारीको आलोचना



काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपतिको आलोचना गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोकेको स्मरण गर्दै उनले एमालेको मात्र राष्ट्रपति बनेको आरोप लगाएकी छिन् ।

आज पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष अर्यालले राष्ट्रपति भण्डारीको भूमिकाको आलोचना गरेकी हुन् । ‘राष्ट्रपति एमालेको जस्तो बन्नुभयो । राष्ट्रपति संस्थालाई सम्मानित बनाउन सक्नुभएन । अरूको इसारामा चल्नुभयो,’ उनले भनिन्, ‘नागरिकता विधेयकमा अनावश्यक राजनीति गर्नुभयो । एक पटक विधेयक फिर्ता गरे पनि अर्कोपटक रोक्न मिल्थेन तर रोक्नुभयो ।’ नागरिकता विधेयक दुई–दुई पटक पठाउँदा पनि रोक्नु पीडादायक भएको उनले बताइन् ।

नागरिकता विधेयक प्रमाणीकरण नहुँदा धेरैले नागरिकता नपाएको उनको भनाइ छ । ‘उहाँले आफ्नो भूमिका कार्यकारीजस्तो ठान्नुभयो,’ उनले भनिन्, ‘हरेकले आफ्नो पदको गरिमा राख्नुपर्छ। म उपाध्यक्ष भएर आफ्नो भूमिका बिर्सिएँ भने राम्रो गर्दैन ।’

‘उहाँ सधैं एमालेको मात्र राष्ट्रपति भइराख्नुभयो । त्यही विधेयक हुबहु अध्यादेशका रुपमा आएको बेला ओके गर्नुभयो । कानुन बनेर जाँदा रिजेक्ट गर्नु त भएन नि !’