रामचन्द्रलाई राष्ट्रपतिको उम्मेदवार बनाएर न्याय गरेँ : देउवा

रामचन्द्रलाई राष्ट्रपतिको उम्मेदवार बनाएर न्याय गरेँ : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल सिनियर भए पनि धेरै दु:ख पाएको नेता भएको बताएका छन् । बिहीबार आठ दलको सांसद प्रशिक्षण कार्यक्रममा देउवाले आफूहरूबीच पटकपटक खटपट भएपनि अहिले राष्ट्रपतिको उम्मेदवार बनाएर न्याय गरेको बताए ।

“रामचन्द्र धेरै दु:ख पाएको सिनियर साथी हो । उहाँले जिन्दगीमा धेरै ठूलो दु:ख पाउनुभएको हो । हाम्रो खटपट भइरहन्थ्यो । शेरबहादुरले कहिले सहयोग गरेन भन्ने तपाईंहरूलाई पनि थियो । हामी प्रतिस्पर्धी पनि थियौँ, यो समस्या अहिले छैन जस्तो लाग्छ मलाई,” उनले भने ।

संसदीय दलको नेतासमेत रहेका देउवाले प्रजातन्त्र र देशलाई स्थायित्व दिन पनि पौडेल राष्ट्रपति हुनुपर्ने बताए ।

“रामचन्द्रजी सिद्धान्तवादी, आदर्शवादी जिन्दगीभर संघर्ष गरेको व्यक्ति हो । अत्यन्तै महत्त्वपूर्ण समयमा उहाँले राष्ट्रपति पदमा उमेदवारी दिनुभएको छ । प्रजातन्त्रको सम्बर्द्धन र सुदृढीकरणका लागि मात्र होइन, प्रजातन्त्रलाई स्थायित्व गर्ने विषयमा सच्चा मानेमा उहाँले त्यसमा लाग्नुहुनेछ त्यसमा मालाई विश्वास छ,” उनले भने ।