कांग्रेसले धोका दिँदैन, गठबन्धन ५ वर्ष टिक्छ : महामन्त्री थापा

कांग्रेसले धोका दिँदैन, गठबन्धन ५ वर्ष टिक्छ : महामन्त्री थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन बनाउने क्रममा भएको समझदारीप्रति आफ्नो दल प्रतिवद्ध रहने बताएका छन् ।

कांग्रेस नेतृत्वको गठबन्धन ब्यूँताउन भूमिका खेलेको भन्दै उनले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रशंसा समेत गरेका छन् ।

थापाले राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धन ५ वर्ष नै टिक्ने बताएका छन् । राष्ट्रपति निर्वाचनका लागि ८ दलीय गठबन्धनको अभिमुखीकरण कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले धोका नदिने बताएका हुन् । गठबन्धन गरेरै चुनावमा गएकाले ५ वर्ष नै गठबन्धन बचाउनुपर्ने महामन्त्री थापाले बताए ।

गठबन्धन तोड्न अहिले पनि केही तत्व लागेको उल्लेख गर्दै उनले भने, ‘कांग्रेससँग धेरै चकचक गर्न नआए हुन्छ । यो गठबन्धन पाँच वर्ष नै टिक्छ । कांग्रेसले धोका दिँदैन । कांग्रेसले दिएको वचन पूरा गर्छ । यो संसद्लाई जोखिममा जान दिँदैनौं । गठबन्धन गरेर चुनावमा गएपछि अब पाँच वर्ष त्यो गठवन्धन बचाउन पर्छ । कि गठबन्धन गर्नु हुन्न थियो अब यसलाई पटकपटक तोड्न मिल्दैन । वचन फेर्न मिल्दैन ।’

त्यस्तै राष्ट्रपति चुनावमा मत बदर हुँदा लाजमर्दो हुने भन्दै मतदातालाई फोटो भएको ठाउँमा स्वस्तिक छाप लगाउन पनि उनले आग्रह गरे ।

कांग्रेसले सरकार ५ वर्ष नै चलाउनुस्, दुई ठूला दल मिलौँ भन्ने एमालेको प्रस्तावमा प्रवेश गर्न नचाहेको महामन्त्री थापाले सुनाए ।