संघीय सांसद र प्रदेशसभा सदस्यलाई रामचन्द्र पौडेलले लेखेको पत्रमा के छ ?

संघीय सांसद र प्रदेशसभा सदस्यलाई रामचन्द्र पौडेलले लेखेको पत्रमा के छ ?


ग्लोब नेपाल
2k
Shares

काठमाडौं । नेपाली काँग्रेससहित आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपति पदका साझा उम्मेदवार पूर्व सभामुख रामचन्द्र पौडेलले भोट माग्दै सबै सङ्घीय सांसद र प्रदेशसभा सदस्यलाई पत्र लेखेका छन् ।

यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा उनले आफूलाई मतदान गरी विजयी गराउन अपिल गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य तथा सातै प्रदेशका प्रदेशसभा सदस्यलाई पत्र पठाएका हुन् । “नेपालका सबै मानिसको नैसैर्गीक अधिकार स्थापनाका लागि मैले सानै उमेरदेखि सङ्घर्षको बेडा उठाउँदै आए । फलतः निर्दलीय निरङ्कुश सत्तासँग म अलिकति पनि झुकिन र पञ्चायतको ३० वर्षे कार्यकालमा त्यसको आधा समय त मैले जेलमै बिताएको हुँ ।

बहुदलीय व्यवस्थाको पुनरागमन पछिका सत्ताका दिनमा पनि कहीँ कतै नचुकीकन देश र जनताको उन्नति, राष्ट्रिय स्वाधीनता र अस्मिताको लागि निष्ठापूर्वक सकेको सेवा गर्दै आएको र आफ्नो छविमा कतै दाग लाग्न नदिने भरमग्दुर कोसिस गर्दै आएको छु”, उनले पत्रमा उल्लेख गरेका छन् ।

शान्ति वार्ताको क्रममा होस् वा संविधान निर्माण क्रममा होस् नेपाली जनताको मानवअधिकार, स्वतन्त्रता, दिगो शान्ति, आर्थिक सामाजिक न्याय र समुन्नतिलाई हृदयमा राखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने कुरालाई आफ्नो लक्ष्य र उद्देश्य बनाउँदै आएको पूर्व सभामुख पौडेलको भनाइ छ ।

आफू नेपालको वास्तविकतामा आधारित विकासको नमूना (मोडेल) अपनाउनुपर्छ भन्ने ठानेको गरेको उल्लेख गर्दै उनले बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चार गाउँ-गाउँमा पुगिसक्दा पनि त्यहाँबाट बसाइ सर्ने क्रम नरोकिएको र देशबाटै प्रतिभा र जनशक्तिको पलायन बढ्दै गएको अवस्थामा गाउँ गाउँमै रोजगारी र आम्दानीको अवस्था कसरी सिर्जना गर्ने भनेर चिन्तित रहेको बताएका छन् ।

राजनीतिक विचारधाराको द्वन्द्वमा अलमलिन नपरोस् भनेर समाजवादको सार ‘निमुखालाई न्याय र विपन्नलाई आय’ सबैको साझा सिद्धान्त हुन सक्छ भनेर अपिल गर्दै नेता पौडेलले नेपाली जनतामा खुसीयाली ल्याउने विकास हासिल गर्ने मुख्य आधार भनेकै स्थायित्व र सुशासन हो भन्ने आफ्नो अटल विश्वास रहेको उल्लेख गरेका छन् ।

सबै धर्म, संस्कृति, जात, वर्ग, लिङ्ग र समुदायको अधिकारको प्रत्याभूति रहेको वर्तमान संविधानको अक्षर र मर्मको परिपालना गर्दै परिवर्तनको जर्गेना गर्ने अठोटका साथ राष्ट्रपतिको गरिमामय पदको लागि उम्मेदवारको रूपमा उपस्थित भएको बताउँदै उनले नेपाली जनताका प्रिय प्रतिनिधिको सबैको अमूल्य मतको अपेक्षा गरेको उल्लेख गरेका छन् ।