सावित्रीको बाख्रो

सावित्रीको बाख्रो

क्लासिक कथा



मेरो काम गर्नु त कहाँ-कहाँ, घरको सेवा-स्याहार गर्नु त कहाँ-कहाँ, कहिले बाख्राे चराउने धौ-धौ, कहिले उसलाई पानी खुवाउने सतर्कता, कहिले बाख्राेकाे गुणवर्णन सुन्दासुन्दै मेरो मालिकत्व भने मनमनै भुटभुटिन थाल्यो ।

एकदिन एक मित्र सज्जन आए । कुरा कहानी हुन थाल्यो । मेरो खिल्ली उडाउन थाले- के को लेखक बन्नु भएको ? झुट्टा प्रेम, मोह, ममताको कुरा लेख्नुहुन्छ । स्वास्नी छँदै छैन, प्रेम भए पनि भए गरेको कतै देखिँदैन ? लेखिएका जम्मै कुरा कितापी प्रेम मात्र ! इत्यादि ! त्यस बखत मनमा लागेको उत्तर दिएँ । प्रेमको अनुभव कहाँसम्म के कस्तो छ, इत्यादि पनि भन्न हुने सीमासम्म भनेँ । सज्जन मित्र भने खिल्ली उडाउँदै रहे- मूड नै त्यस्तै लिएर आएका थिए । अन्ततः प्रेम स्नेहको मामिलामा मलाई बज्रमूर्ख साबित गरी उनी गए ।

उनी गएका मात्रै के थिए, तल बारीमा रहेको सावित्रीले हस्याङ फस्याङ गर्दै मेरो सफा राम्रो कोठामा थुप्रै झारपात ल्याई थुपारी, “लौ हेर्नुस्‌ । यो काँक्रोको यो फूल यो फर्सी, लौका, जम्मै खायो । दिनहुँ पानी पाटे, स्याहारेँ, उमारेँ जम्मै सखाप !” मारी नै दिन्छु दाह्रा किट्दै खुट्टा बजार्दै तल ओर्ल्ही । माया ममता, प्रेम स्नेहको मूडमा रहेको मलाई बिरक्ति लाग्यो, रिस पनि उठ्ने साँच्चिकै त हो नि, कति दुःख गरी गरी लगाएका केनपात बाख्राले खाइसिध्यायो छिमेकी सारा त्यस्तै छन्‌ ।

बोलुँ भने लडाइँ झगडा पर्नुपर्छ । चूप रहेँ भने महिनौंको परिश्रम बाख्रा, गाई गोरुले मिनेटमा नै सखाप पार्ने मामूली कुरो । तर चूप लाग्नमा कुशल भन्ठानेर अहिलेसम्मको सहेर पन्छाउने धैर्य, परिश्रम त्यस दिन सँगालेर तल ओर्लैं। सावित्रीले के कुनै बाख्राेलाई पक्री छिडीको कोठामा थुनिराखेकी थिई । कोठाभित्र म्याँ-म्याँ बाख्राेको बोली सुन्दै बारीमा पुगेँ । जम्मै त होइन, तर पलाउँदै आएका तरकारी र फूल केही बिरुवा खाएको देखेर दुःख पनि लाग्यो । बाख्रो समात्न जम्मै बारी दगुरकी सावित्रीले इनारमा हात खुट्टा पखालिरहेकी थिई ।

मलाई देख्नेबित्तिकै भनी-“छिडीमा थुनिदिएकी छु । त्यसलाई भोकभोकी नमारी कहाँ छोड्छु र ? जम्मै खाइसिध्यायो । हेर्नुस् न !” उसको आँखा अलिक रसाएको जस्तो पनि थाहा पाएँ र उस बखतको उसको रिसमा सन्तोष पनि लाग्यो ।

सावित्री मेरो भात पकाउने र अह्राएको घरको काम गर्ने भान्छे केटी ! इच्छा नरहे पनि मेरा रिसको डरले कोठा सफा पार्ने, घरको मालताल थन्क्याउने इत्यादि भएभरको काम ऊ गर्छे । तर रुचिले होइन कि गर्नु परिहाल्छ, गर्नै पर्छ भन्ने विवशताले मात्र ! विवशता केको छ भने, राम्रो राम्रो खान लाउन पाउने तथा उसको सोखअनुसार मनपर्ने राम्रा राम्रा मालतालको उपयोग गर्ने, रेडियो बजाउने र यसरी छिनभरीकै लागि भए पनि पाउने सन्तुष्टि लाभ र गाली भनाइ खप्नु पर्ने अलिक भए मात्र ।

उसको आफ्नो दयनीय इच्छापूर्तिको लोभ र केही बिग्रेमा गाली भनाइ खप्नैपर्ने भयचेतना नभए घरका साना राजसर्जाम, माल ताल नष्ट भए पनि कुनै त्यस्तो अवस्थामा एउटा बेवास्ताको मानिसलाई पनि हुने स्वाभाविक खेद र दुःख विषादको सहज मानवीय प्रवृत्तिपर्यन्त उसमा छैन, यो म किटेर भन्न सक्छु । मेरो अनुभवमा त त्यो आइमाई पनि एउटी त्यस्तै हृदयहीन केटी हो, जसको हृदयतन्त्र स्वार्थ र (नोकरी अभ्यासजन्य) व्यवसायकता देखाइसकेको थियो । वस्तुतः त्यो निम्नकोटिको संस्कारप्राप्त क्षुद्र र कुटिल लोभ, स्वार्थमा खुट्टादेखि टाउकोसम्म मुछिएको एउटी नोकर्नीबाहेक अरू केही पनि होइन ।

त्यस्ती सावित्रीलाई, बारीको केनपात बाख्राेले खाइदिँदैमा यत्तिका दुःख-उत्तेजित देखेर अचम्म लाग्नुको सट्टा मलाई कुन्नि कहाँ हो कहाँ सन्तोष पनि लाग्यो । बिस्तारै दैनिक कामहरूले छोप्तै ल्याए र सावित्री त्यसैमा व्यस्त हुँदै गई । म पनि आफ्नो अनिवार्य कार्यक्रममा अल्झिएँ, बाख्राेले खाएको फूल, तरकारीका बिरुवाहरू तथा सावित्रीको क्रोधावेशका तत्कालीन उद्वेलन साम्य हुँदै गई बिलायो । तर कामकाजको व्यस्ततामा पनि अलिक फुर्सद पाएका बेला, क्षणहरूमा अवचेतनामा भए पनि मेरो मानसमा रही रही यो प्रश्न उठिरहने क्रम छोडेन कि सावित्रीलाई आज कुनै नोक्सानीमा उद्विग्नता कसरी आयो र ‘कसैको हानि-नोक्सानीका कुरा उसको जन्मजात बेवास्ता, बेपर्वाहीले नै पन्छाउने उसको ‘प्रकृति आज कहाँ लुकेर बस्यो, कता बिलायो ।

साँझ परिसकेको थियो, डुलेर बाहिरबाट घर पुगेर तल छिंडीकोठामा हेरेँ, बाख्रो एक कुनामा चूपसित बसिरहेको थियो । माथि पुगेर अलिक आराम गर्न ओछ्यानमा त्यसै पल्टेँ । एकछिनपछि सावित्री पनि भान्साबाट आई र आउँदा-आउँदै भनी- “बाख्राे लिन कोही पनि आएन । तल बाँधिराखेकी छु । लिनै आए पनि अब त दिन्नँ ? यस्तरी दुःख गरी-गरी लगाएका जम्मै बिरुवा कसरी खाइदियो, हरे … ।” अनि करुवा बोकेर पानी लिन गई । म ओछ्यानमा नै लडिरहेँ । केही बेरपछि तल बाख्रोले कराएको स्वर सिंढीमा उक्लने सावित्रीको पदचाप दुवै सँगै सुनें ।

पानी आएपछि उठेर हात धुन थालेँ, मेरो हातमा पानी हाल्दै सावित्रीले भनी- “मलाई देख्नेबित्तिकै बाख्रो कराउन थाल्छ, मलाई चिन्यो, तल पुगेको पटकैपिच्छे ऊ कराउँछ ।” म रुमालले हात पुछ्तै थिएँ, केही सम्झेँ अनुहार लाएर उसले फेरि भनी – “बाख्रो त भोकले कराएको हो पर्याे, बिचरा भोकै छ ।” ऊ फेरि तल गई, बाख्रो कराएको स्वर पनि सुनेँ । एकछिनपछि माथि आएर सावित्रीले सम्चार सुनाई – “हलवाबेतको पात पनि खाइरहेको छ । अब त चुप लाग्यो ।” सुनेर पनि म चूप नै रहें केही भनिनँ ।

राती भात खाएर सुत्न जानेबखत उसले मसित सोधी – “पानी नखुवाए बाख्राे मर्दैन ।” बाख्राे त उठेर आयो, तर हाँसिनँ ।

बिस्तारै भनेँ, “कुनै माटाेसाटाेको भाँडोमा राखिदेऊ न !” एउटा फ्याँकिएको कहतारामा पानी लिएर ऊ तल
ओर्ली । बाख्राेलाई पानी दिएर माथि आफ्नो कोठामा गएर सुती ।

बिहान साढे चार बजे नै बिउँझने मेरो बानी छ । उठेर आँखा, मुख पखाली, एक गिलास पानी खाएर लेख्न बसेँ । एक घण्टा काम गरिसकेपछि थकाइ मार्न चिया खाने गर्थें, तर ठीक समयमा नै चिया तयार पारिदिने सावित्री आज त आइन । “किन यसरी सुतेकी होली’ भनी सम्झँदै कराएर उसलाई बोलाएँ, जवाफ आएन । अलि जोरसितै बारीबाट ! अनि भर्याङ उक्लेको पदचाप सुनें । मेरो कोठामा पुगेर अलिक उत्फुल्लतासाथै हाँस्तै सावित्रीले भनी-“बाख्राे त अब कराउँदैन, मलाई देख्नेबित्तिकै जुर्मुराउँदै उठ्यो । लामो डोरीमा बाँधेर नासपातीको रूखमा बाँधिदिएको त चुरुम-चुरुम चर्न थाल्यो ।”

सुनेर झर्कदै भनें – “चिया पकाउनु त कहाँ कहाँ, अब बाख्राेलाई खुवाउने जरुरी पर्याे । अहिल्यै बाख्रा चराउन केको जरुरी थियो र ?” उत्तर नदिएरै उसले स्टोभ बाली ।

पाँच-सात दिनसम्म कसैले बाख्रोलाई खोज्न लिन आएन । कदाचित्‌ उसका मालिक पत्तै पाएको थिएन होला कि बाख्राे यहाँ छ । यहाँ त्यतिञ्जेल बाख्रो र सावित्रीसम्बन्धी कइयन्‌ घटना घटे, अनेकौं नयाँ स्थापना भइसके । एकदिन डोरीबाट घाँटी फुत्काएर बाख्राेले फेरि दुई-चारवटा तरकारी, काँक्रोका बिरुवाहरू चरी खायो । त्यसदिन सावित्रीले हाँस्तै समाचार मात्र सुनाई- ‘बाख्राे त बाठो छ, के गरेर हो, कसरी डोरीबाट घाँटी फुत्काएछ, झ्यालबाट यस्तो हेर्दा त बिरुवाहरू खाइरहेको । दगुर्दै समातेँ, फेरि कँसेर बाँधिदिएँ । धेरै त बिगारेको छैन है । सामाचार सुनाउनुमा आक्रोश, क्रोध थिए । बरु “म नरिसाऊँ’ भन्ने सावधानीले हो कि केले हो, बाख्रोको उमाल्नेतर्फ बढ्ता जोर थियो ।

अनि यस्तै एकदिन बडो प्रसन्नतासाथ सावित्रीले एउटा नयाँ सफलताको कुन समाचार सुनाई भनें- “बाख्रालाई अब त बाँध्नु पर्दैन । फुकाएरै दिउँसो छाडिदिएको त सँगसँगै उक्लेर माथि भान्छासम्म आइपुग्यो । चावल-दालको कनिका हाल्दिएको त मजासित खायो ।” कुरा सुनेर मनमनै अचम्म अनुभव गरेँ । सुविधासाथ मैले पनि दुई-तीन वर्षदेखि पालेकै हुँ । उसको जम्मै नोकर-प्रवृत्तिको थाहा छ कि यहाँ पाएजतिको सुख-सुविस्ता अन्त कतै पनि भान्छेको वा अन्य कुनै सेवाकार्य गरेर ऊ पाउँदिन । कमसेकम उसको जिद्दी, जो मैले नचाहेर पनि दुःशील र वशिकपना जस्तो देखिन जाने कुनै पनि व्यवहारको प्रति स्वयंभित्रै उब्जने लज्जाबोधको कमजोरी र भावनाशीलताले गर्दा कुनै न कुनै रूपमा पूरा नै हुँदै आएको थियो, अन्त कतै पनि मालिक नाउँको कुनै जन्तुकहाँ अवश्यमेव चल्ने व्यावहारिकता होइन ।

किन्तु यत्तिको पाएर पनि यस घरको कुनै राम्राभन्दा पनि राम्रा मूल्यवान्‌ निर्जीव वस्तु वा सजीव तत्त्वमा ममता, मोह र विचारशीलता भन्ने कुनै भावको परिचयपर्यन्त स्वीकार नगर्ने सावित्रीले अर्काको बाख्राेप्रति ममता वा मोहमिश्रित लोभ नै लिएकोमा पनि म अचम्मको र त्यस बाखाप्रति ईर्ष्याको सङ्घात पनि स्वभावतः नै लिन थालेको थिएँ ।

मेरो काम गर्नु त कहाँ-कहाँ, घरको सेवा-स्याहार गर्नु त कहाँ-कहाँ, कहिले बाख्राे चराउने धौ-धौ, कहिले उसलाई पानी खुवाउने सतर्कता, कहिले बाख्राेकाे गुणवर्णन सुन्दासुन्दै मेरो मालिकत्व भने मनमनै भुटभुटिन थाल्यो । चार पाँच दिनमा त कहाँसम्म यो भने बाहिरबाट आएर एक गिलास पानी खान भनी ‘सावित्री, सावित्री’ चिच्याइरहँदा पनि, बारीमा बाख्रो चराउन बसेकी र उसलाई आफ्ना पछिपछि हिँड्न लगाएर बाख्रोमाथि आफ्नो स्वामित्वको तुच्छ विजयलाभ पाउन खोज्ने सावित्री नजिक मेरो चिच्याहट सुनेर पनि अरण्य रोदनसरह उपेक्षित भई मतिरै फर्किआउने गर्थ्यो ।

अन्ततः मैलाई उठेर झ्यालबाट कराउनु पर्थ्यो । फेरि अनिच्छापूर्वकै भए पनि कृत्रिम रवाफ बनाई आफ्ना राता आँखाप्रति उसको ध्यान आकर्षित गरेर मूक नै आफ्नो क्षमता बलको महत्त्व व्यक्त गरेपछि मात्र ऊ प्रष्ट अनिच्छा देखाउँदै उठ्यो । अझ माथि आएर एक गिलास पानी मेरो हातमा दिँदादिँदै पनि चूपसितै यो पनि व्यक्त नगरी छोड्दैनथी कि बाख्रोकी मान्य स्वामिनी ऊ जस्तीलाई मैले पानी ल्याउन लगाएर गरेको अपराध, पानी दिएर पनि, उसले केवल क्षमा मात्र गरेकी छ, र जसप्रति मलाई कृतज्ञ कृतार्थसमेत हुनै पर्दछ । यसरी क्रमशः बाख्रोको स्याहारसुसारमा नै ऊ कहाँसम्म व्यस्त हुन गई भने, एक साताभित्रैमा, म बाख्रोको तमासा हेरिबस्ने एउटा उपेक्षित, अपदार्थ दर्शक मात्र रहन गएँ ।

एकदिन ब्याहानै नियमानुसार बसी लेखिरहेको र विषयप्रवाह निर्विरोध चलिरहेकोले लेखन-तन्मय भइरहेको बखत भर्याङमा जोड्सित खुट्टा बजार्दै मेरो कोठामा आएर सावित्रीले भनी – “हेर्नुस्न्‌, बाख्राे लिन आइछ”, भन्छे – “बाख्राे मेरो हो । उसको हो, होइन हामीलाई के थाहा ? उसले भन्दैमा बाखो दिने र ?”

ऊ मूल सडकपारि गल्लीमा बाहुनको छिंडीमा बस्ने केदारकी आमाले भन्छे, “बाख्राे उसको हो । आज दश-बाह्र दिनदेखि हराएको थियो रे ।”

“हराएको थियो भने यति नजिकै लिन आउनुपर्दैन थियो ? साराको बारी खुवाउन बाख्रो छोडिराखेको, हराएको थियो रे ! तर बाख्रो भने त उसको हुँदै होइन, के दिने ?”

यत्तिकैमा बाख्राेकी घोषित मालिक्नी पनि मेरो कोठाको अगाडि आई उभिई । आफ्नो मालिकत्व र बाख्राेलाई बाँधिराखेको अभियोग पनि उसले फलाक्न थाली । विरक्त भएर पनि उसलाई बिस्तारै कुरा गर्न भनी झपारेर सोधें, “तिम्रै बाखो भए अर्काको बारी चराउन किन छोडिराखेको त ? मेरो जम्मै तरकारी, फूलका बिरुवापात खाइसिध्याएको नोक्सानी कसले तिर्ने ?”

मेरो त्यति समर्थनात्मक कुरा सुनेर सावित्रीलाई अब के चाहियो ? बिरुवाहरूको कष्टसाध्य उब्जा, परिणाम र फूल तरकारीहरूको कठिनप्राप्त गुन, रूप सौन्दर्य, स्वाद, सौरभ जम्मैको महत्त्व संयुक्त तर्कका अग्रज धारा मूल्य र क्षतिको दुःसाध्य परिमाणमा बगे । बीच-बीचमा बाख्राेकी मालिक्नीले पनि जवाफको ढुङ्गा हान्दै बगिरहेको विभिन्न तर्कधारामा अवरोध पार्ने कोशिश गरी । तर सावित्रीका वाक्य-प्रवाहको वेग अगाडि, ती त्यसै गुडिदै बगेर गए । कुशल यति मात्रै थियो कि मेरो कोठा अगाडि मेरै सामुन्नेको भन्सुन भएर प्रवाहगर्जन भने मद्धिम थियो । पन्ध्र-बीस मिनेटपछि जब दुवैका पक्ष मेरो निर्णयकलाई उन्मुख भए, मैले भनेँ – “हेर, नोक्सानी धेरै भयो, बाख्राेलाई त अड्डामा नै पुर्याउनु पर्ने, लिलाम हुन्थ्यो, तर भो, अबदेखि यस्तरी बाख्रो छोडेर कसैको फलफूल केनपातमा चर्न नलगाऊ । अब फेरि यतातिर बाख्रो आयो भने मारिदिन्छु । जाऊ बाख्रो लिएर यस पटक जाऊ ।”

हाम्रो कुराका बीच-बीचमा फत्फताउँदै गरेकी सावित्री, मेरो निर्णय सुन्नेबित्तिकै मैन हुन गएकी थाहा पाएर अचम्म लाग्यो । अनि मेरो न्यायादेशको सम्पूर्ण अवज्ञात्मक प्रतिरोधलाई तयार-तत्पर सावित्रीको कल्पित अनुहारमा नजर पुर्याएको त मनमनै त्रस्त हुन गएँ । मेरो यतिका दिनका सम्पर्क अनुभवमा रहेकी त्यस्ती दरिलो र कठिन सावित्रीको त्यस्तो रूप मैले अभसम्म हेर्न पाएको थिइनँ । छिनभरिमा नै ऊ त्यस्तो कोमल र त्यस्तरी क्लान्त, असहाय भएर देखापर्छे र उसको त्यस्तो पीर निर्बल, अबला मुद्रा म हेर्न सकूँला भन्ने आशा त के ममा कुनै कल्पना पर्यन्त थिएन ।

कदाचित्‌ सावित्रीको मूकता र मेरो आश्चर्य-आकृतिको प्रभाव बाख्रोकी स्वामिनीमा पनि पर्याे र ऊ केही नबोलेरै बिस्तारै तल ओर्ली । एकछिनपछि नै बाख्राे नै बाख्राे ‘म्याँ… म्याँ’ स्वर सुनियो । अनि सावित्रीले पनि लस्त भएकीझैँ पाइला हाल्दै तल ओर्ली । आधा मिनेट जति होला, म चूप नै बसिरहेँ । अनि कुन्नि कुन चेतनाले हो, कैले मैले पनि उठेर कोठाबाहिरको मटानको झ्यालबाट मुन्तिर हेरेँ । बाख्रोलाई डोर्याएर उसकी मालिक्नी गइरहेकी थिई र बाख्राेचाहिँ इनारमा उभेकी सावित्रीतिर घुमी-घुमी मुख फर्काउँदै “म्याँ…म्याँ” कराउँदै तानिइँदै गइरहेको थियो ।

सावित्री अपलक आँखाले टुलुटुलु हेरिरहेकी थिई । दृश्यचाहिँ मलाई पनि कस्तो-कस्तो लागिरहेको थियो । अनि बाख्रो आँखा-ओत भएपछि सावित्री लर्खरिंदै रामतोरियाँ र फूलका बिरुवा भएको खेतको आलीमा थचक्क बसी । मैले देखेँ । उसको आँखाबाट अबाध आँसुका थोपा उत्निखेर झरझर झरेर गलामा गुड्न थालेका छन्‌ । खपिनसक्नु भएर म पनि तल ओर्लें । भय थियो कि मलाई देख्नेबित्तिकै ऊ डाँको छोडेर रुन थाल्छे ।

तर आश्चर्य, त्यस्तो केही भएन र उसको नजीक पुग्दा नपुग्दै मतिर हेरी । आँसुले भरिरहेका आँखा र भिजेका गाला भए पनि उसका एकाएक कुन्निकस्तो आवेश टल्केको अनुभव मलाई हुँदा नहुँदै ऊ आँधीजस्तो हुर्रिएर खेतमा पुगी र तरकारी तथा फूलका बिरुवाहरू उखेल्दै मतिर फाल्न थाली, साथै फाल्ने क्रमको हरेक पटक कराउँदै पनि गई “लौ, यो पनि लिनोस्‌, लिनोस्‌, जम्मै त्यसै राँडीकहाँ पुग्याइदिनोस्‌ ! यति दुःख गरी-गरी लगाएको यसमा अब छँदै के छ र ? बाख्राेले जम्मै चरेको यै होइन र ? लिनोस्न, लिनोस्‌ पठाइदिनोस्‌ ।’

वाल्ल परेर अलिक टाढै मूक, हतबुद्धि म उभिइरहेँ । खेतका छेउछाउ भएभरका तरकारी र फूलका बिरुवाहरू उखेली फालेपछि ऊ दर्गुदै माथि पुगी । जम्मै घटित दृश्यमा जिल्ल, उभिरहेर पनि अलिक संयम्‌ भई म माथि पुगें । हेर्छु त ऊ मेरै कोठाको भुइँमा घोप्टिई बुझिनै नसकिने कुन्निकस्तो वेदना विह्वल मसिनो सुरमा रोइरहेकी थिई । कोठाको ढोकाबाहिरै निस्तब्ध उभिरहेर उसको घोप्टिएको जीउ म हेरिरहेँ । मनमा अनेक अस्त-व्यस्त भावधारा ओहोर-दोहोर गर्न थाले- “यसले अनाहकमा खेतका बिरुवा किन उखेली फाली ? रिस लागेपछि यस्तरी धुरुधुरु किन रोइरहिछ ? यो रुवाइ दुःख हो कि क्रोधद्वेग ? इत्यादि ।’

अनि एकाएक, बाख्राे यहाँ छँदै एक पटक घाँटीको बन्धन फुत्काएर बिरुवाहरू चरिदिँदा र बाख्रोकै पक्ष समर्थन गरेकी यही सावित्रीकै अनुहार सम्झेँ । वर्तमान आवेग र रुदनको समस्यामाथि कुनै प्रकाशजस्तो परेको अनुभव भएर कुनै पनि मर्यादाविरोध नमानी घोप्टिएकी सावित्रीलाई उठाएर उसको आँसुले भिजेको रातो अनुहार हेरेँ । निमेषभित्रै मानो जम्मै छर्लङ्ग पारेर भित्रको कुनै देउताले भ्याली पिट्दै चिच्यायो- “यो आँसु क्रोध होइन, यो आँसु दुःख पनि होइन, हरे यो त त्यस बाखोप्रति मानवीय मोहको त्यो उत्सर्ग, जो आज सावित्रीजस्तीको पनि सारा प्रवृत्तिलाई विजित पारी, डोरिइँदै आफ्नी मालिक्नीको साथमा गइदिएको छ । हुन्‌ ती तल उखेलिएका, फालिएका बिरुवाहरू ! र आह ! त्यसैका स्नेह, ममताका उत्सर्ग होइनन्‌ यो आँसु, यी मोहको तरल अर्घ्य ?’

(भवानी भिक्षुकाे “आवर्त” कथासङ्ग्रहबाट)