बिश्व बन्यजन्तु दिवसलाई शुभकामना

बिश्व बन्यजन्तु दिवसलाई शुभकामना



बिश्वले ३ मार्चमा ५० औं बिश्व बन्यजन्तु दिवस मनाईरहदा नेपालले पनि यो दिवस भब्यरुपमा मनायो । सोही दिनमा काठमाडौंस्थित होटल हिमालयमा आयोजित आईयुसिएनको छैटौं बार्षिक संयुक्त बैठकमा लामो संरक्षण बहसमा सहभागी हुने अवसर मिल्यो । १७ बर्षपछि अन्तर्राष्ट्रिय संरक्षण संघ (आईयूसिएन) को उच्च भ्रमण दलले चितवन राष्ट्रिय निकुञ्जको निरीक्षण गरेर यो सभालाई सम्बोधन गर्दै दिनभर छलफल, अन्तर्क्रिया र प्रश्न उत्तर कार्यक्रममा देखाएको सक्रियताले बन्यजन्तु दिवसको महत्व र महिमा बढेको अनुभूत भयो ।

चितवनको छोटो भ्रमणमा अवलोकन गरेका दुर्लभ बन्यजन्तुहरु स्थानीय समुदायको संरक्षण पहलता र प्रतिबद्धता तथा संरक्षण संघसंस्थाहरुको संयुक्त संरक्षण कटिबद्धताले भ्रमण दललाई उत्साहित बनाएको प्रष्टै देखिन्थ्यो । सभामा सहभागी आईयूसिएनका सदस्य संघसंस्था र मित्रहरु, प्रकृति र संरक्षण बिज्ञहरु, सम्बन्धित मन्त्रालय र बिभागका प्रतिनिधिहरु तथा वाताबरण पत्रकारहरुको संरक्षण चासो, भावी संरक्षण रोडम्याप सुन्दा बन्यजन्तु संरक्षणको भविष्य उज्वल छ भन्ने सन्देश प्रबाह भईरहेको थियो । भ्रमण दलले बिषेशत एशिया र नेपाल आफ्नो संरक्षण प्राथमिकतामा परेको र आगामी दिनमा संरक्षण कार्यक्रमको दायरा बढाएर संरक्षणको आवश्यकता, गाम्भीर्यता र सम्बेदनशीलतालाई सम्बोधन गरिने कटिबद्धता जनाएपछि सहभागी संरक्षणकर्मीहरुको हौसला बढेको थियो । अतिथि महानिर्देशक, उपमहानिर्देशकको सन्देश सान्दर्भिक र उत्प्रेरणा जगाउने प्रकारको थियो । यो दिनले संरक्षणकर्मीहरुलाई एउटा छातामुनि गोलबद्ध गरेर भविष्यमा अझ सक्रिय भई संरक्षणमा लाग्न उर्जा भरिदियो । पंक्तिकारको लागि यो दिन शिक्षाप्रद र अबिस्मरणीय रह्यो ।

स्थानीय समुदायमा आधारित चोरी सिकार नियन्त्रण समुह दिवस
सोही दिनमा स्थानीय युवाहरुले सिबिएपियु दिवस मनाए । यो दिवसको महत्व र महिमा बयान गरिनसक्नु छ । यो कार्यक्रमका परिकल्पनाकार मध्येका १ जना संरक्षणकर्मी रमेश थापा आईयुसिएनको बैठकमा सहभागी थिए । सोही दिन संरक्षणमा समर्पित उज्यालो नेपाललाई आईयुसिएनले दर्ता गरेर उहालाई प्रमाणपत्रले सम्मान गरेको थियो । पंक्तिकारले सिबिएपियुका अन्य हस्तीहरु टिकाराम अधिकारी, कमलजंग कुँवर, माधव, रुपक लगायत प्रोटेक्सन युनिटका कमाण्डर र सकल दर्जालाई स्मरण गरें । जसले द्धन्द्धले खाली गराएका निकुञ्ज आरक्षणहरुमा स्थानीय युवाहरु परिचालन गरि बन्यजन्तुहरु पुनर्प्राप्ती गर्न ज्यानको बाजी लगाएका थिए । निकटवर्ती गाउँगाउँ पुगेर अवैध सयौं थान बन्दुकहरु जम्मा गरेर निकुञ्ज प्रशासनलाई बुझाएका थिए । द्धन्द्धकालको संरक्षण रिक्तता अथवा खाली ठाउँ भर्न स्थानीय युवा दस्ताको एकलाईन ईण्टेलिजेन्स र प्रतिरक्षा घेरा निर्माण गरेका थिए । आईयुसिएन बैठकमा जोडदारसँग उठेको र सबैले स्विकारेको एउटा सत्य कुरा त्यही थियो— दिगो संरक्षणमा स्थानीय समुदायको सहभागिता अपरिहार्य छ ।

खुशीको चाङ
पंक्तिकार दिवसको संघारमा संयोगले बर्दिया राष्ट्रिय निकुञ्ज पुगेको थिएँ । निकुञ्जको आकास धर्ती नदीहरु बन्यजन्तुले भरिभराउ देखेर मलाई स्वर्ग पुगेको अनुभूत भयो । मैले आफ्नो स्वर्गको सेवा पूस्तक त्यही निकुञ्जलाई सगर्व उपहारस्वरुप समर्पण गर्न पाउँदा खुशीको सीमा रहेन । भ्रमणमा रहनुभएका अन्तर्राष्ट्रिय किवानिज चिल्ड्रेन फण्डका प्रेसिडेण्ट फिलिप डेलानोटे र फष्ट लेडी यान खुशी र हर्षले भावुक हुनुभयो । बालबालिकाको सेवामा समर्पित संस्थाका उच्च पदाधिकारीहरुले बालबालिकाको वातावरण हक र भविष्य उज्वल देख्नुभयो ।

अर्को दिन हामी ३७५ किमि कच्ची पक्की सडकमा गुडेर टिकापुर पुग्यौं । किवानिज क्लब टिकापुरले सिद्धार्थ होटलको सभाहलमा भब्य र सभ्य किवानिज कार्यक्रम आयोजना गरेका थिए । त्यही होटलको छाना र बार्दलीमा दर्जनौं चाका बनाएर लाखौं भिर/बन मौरीहरुले मह भरिरहेका थिए । हाम्रा अन्तर्राष्ट्रिय अतिथिहरुको हर्षले भुँईमा खुट्टा रहेनन् । युरोपमा समूहमा नदेखिने मौरीहरु नेपालमा घरभरि, बनभरि, भिरभरि देखेर उहाँहरु आश्चर्यचकित् हुनुभयो । सिद्धार्थ होटेलले भर्खरै ८५ लिटर मह काडेको रहेछ । अगष्टमा मह खान आउने निमन्त्रणा लिएर हाम्रा अतिथिहरु हर्षबिभोर भई भोलिपल्ट युरोप फिर्ता हुनुभयो ।

पूर्ब सचिव कृष्ण आचार्यले शुक्लाफाँटामा सडकमै बाघ देखेको कुरा सुनाउनुभयो । सोही समयमा पूर्व गभर्नर मोहन लम्सालले चितवन राष्ट्रिय निकुञ्जमा कालो भालु लगायत बिभिन्न बन्यजन्तुहरुको फोटो कैद गर्न भ्याउनुभएको थियो । डा. घनश्याम गुरुङले कर्णालीमा डल्फिनको फोटो कैद गरेर पोष्ट गर्नुभएको थियो । बिभिन्न निकुञ्जमा भ्रमण गर्ने मित्रहरुको बन्यजन्तु अवलोकनमा अपूर्व सफलता मिलेको थियो ।

मैले संरक्षणमा समार्पित स्थानीय युवा दस्ताका अतिरिक्त फिल्ड फ्रन्टलाइन स्टाफ तथा नेपाली सेना, जो अहोरात्र जीउ धन परिवार नभनी संरक्षणमा होमिएका छन् तिनलाई स्मरण र सम्मान गरें । अनि पुकार गरें— सबै पर्यटकहरुका आँखा र मन यसैगरि तृप्त हुन् । बन्यजन्तु खुशी र सुखी हुन् । सहअस्तित्व र समृद्धिको नमूना भूमि होस् हाम्रो नेपाल ।

कालो बादल
यो दिवसमा यती धेरै खुशी मनाउदै गर्दा पर क्षितिजमा कालो बादल देखियो । राजनीतिक भ्रष्टिकरण र कुशासनले आर्थिक सामाजिक सांस्कृतिक कुटनीतिक तनाब चुलिएको छ । मानव — बन्यजन्तु द्धन्द्ध बढेको छ । तनावग्रस्त समाज बन फडानी र अतिक्रमणमा उत्रिएको छ । बन्यजन्तु सिकारमा खुल्लेयाम जाइलागेको छ । बन्यजन्तु अंग ब्यापारको विकल्प रोज्न बाध्य छ । सरकार आफै प्रकृतिको बिरुद्ध उत्रिएको खराब नजिर छ । प्रकृतिको उत्खनन, दोहन, बिनास, बिक्री बितरण, पैठारी बढ्दो छ । प्रकृति कुशासनको सिकार भएको छ र दलाल, बिचौलियाको प्राईभेट कम्पनी जस्तो भएको छ ।

ईतिहासको कालखण्डमा बन मन्त्रालयले अपवाद बाहेक संरक्षणमा प्रतिबद्ध नमूना नेतृत्व पाएन । भर्खरै ढलेको सत्ताले बन मन्त्री नै पाएन । बन सचिवको हबिगत उस्तै छ । मन्त्री, सचिव, महानिरीक्षक बनाउन र फ्याक्न प्रकृति लुटिखाने दलालहरुको तँछाड् मछाड् छ । कुशासनले सीमा नाघिसकेको छ र सामाजिक तनाब प्रकृति बिरुद्ध पोखिएको छ । राजनीतिक हस्तक्षेपले प्रकृति बिटुलो र अपाङ्ग जस्तै भएको छ । खुशीको चाङमाथि कालो बादल मडारिदा प्राप्त सफलतामा ग्रहण लागेको महशुस भयो ।

चाँदीको घेरा
प्रकृतिको धनी देश नेपालको प्रकृति संरक्षण पहलता, प्रयास, सफलता र उपलब्धि बिश्वमै प्रशंसनीय र प्रख्यात छ । सम्पूर्ण फ्रण्टमा असफल मुलुकको ईज्जत संरक्षण छबिले ढाकछोप गरिदिएको छ । संरक्षण सफलताको लागि केही सुझावहरु बुंदागतरुपमा राखेको छु :—

मुलुकलाई घाँडो सिद्ध भएको संघीयता खारेजीको जोडदार माग उठिरहेको छ । र, ढिलो चाँडो त्यो आयातित् बोझ खारेज भई छाड्ने छ । तथापि, स्थानीय सरकार स्थानीय समुदायको खारेजी संभव छैन । उनीहरु झन् शक्तिशाली हुने छन् । तसर्थ, प्रकृतिको अपनत्व लिएर आफ्नो प्रकृति र बन्यजन्तु तथा प्राकृतिक श्रोतको संरक्षणमा स्थानीय सरकार र समुदाय अग्रपंक्तिमा उभिनुपर्दछ । संरक्षण क्षेत्र बाहिरको बन्यजन्तु संरक्षण पेचिलो बनिरहेको बेला संरक्षण क्षेत्र विस्तार र त्यसको दिगो संरक्षण तथा व्यवस्थापनमा स्थानीय समुदाय दृढ संकल्पसहित जुट्न जरुरी छ । बिचौलिया, प्रदेश र संघको बदमासी र लुटपाटमा ब्रेक लगाउनु पर्दछ । दिगो र नमूना संरक्षणको पहिलो र ठूलो मूलमन्त्र यही हो ।

संरक्षणको ऐतिहासिक खम्बा नेपाली सेनाले संरक्षणलाई उच्च प्राथमिकतामा राखेर शून्य सिकारको पूर्व उपलब्धि बचाउनुपर्दछ । तराईमा र निश्चित प्रजातिमा मात्र होईन, बरु हिमाल पहाड सर्बत्र शून्य सिकार उसको संरक्षण रोडम्याप हुनुपर्दछ । ८ हजार होईन सम्पूर्ण संगठन प्रकृति संरक्षणमा होमिनुपर्दछ । अन्य सुरक्षा निकायको समेत पहिलो र अनिवार्य लक्ष्य वातावरण सुरक्षा हुनैपर्दछ । तबमात्र दिगो वातावरण संरक्षण र सन्तुलित विकास सम्भब हुन्छ ।

बन्यजन्तुको अबैध अंग व्यापार नियन्त्रणमा नेपाल प्रहरीको सिआईबिले उल्लेखनीय सहयोग पुर्याउदै आएको छ । त्यो महत्वपूर्ण अंगलाई स्रोतसाधन सम्पन्न बनाई यो पुनीत कार्यमा अझ प्रभावकारी बनाउन सबैले ध्यान दिन जरुरी छ । साथै, समग्र नेपाल प्रहरी र सशस्त्र प्रहरीको लक्ष्य वातावरण सुरक्षा हुनुपर्दछ ।

प्रकृति संरक्षणमा समर्पित साझेदार संघसंस्थाहरु संरक्षण छातामुनी एकढिक्का भई गोलबद्ध हुन र टिमवर्कको माध्यमबाट संरक्षणमा अझ सकृय भई होमिन जरुरी छ । सबैको अराजनीतिक र निस्वार्थ समर्पणले मात्र अर्थपूर्ण प्रकृति संरक्षण सम्भब छ ।

संघको नेतृत्व रिक्तता अथवा बाटो बिराउने नेतृत्व र कुशासनको वास्ता नगरी फिल्डफ्रण्टलाईन कर्मचारीहरुले संरक्षणमा हरित सुशासन कायम गर्न दत्तचित्त रहन जरुरी छ । साथै, सिबिएपियुलाई बचाउन, सबलिकरण र शसक्तिकरण गरेर संरक्षणमा परिचालन गर्न जरुरी छ ।

रोग भोक अभाव बेरोजगारको आँगनमा दुर्लभ बाघ चितुवा संरक्षण गर्न ज्यादै कठिन छ । प्राकृतिक स्रोतसाधन, पर्यापर्यटन र हरित अर्थतन्त्रको प्रचुर सम्भावना बोकेको देश नेपाल गरिब र पीछडा हुनै सक्दैन । गरिबी हाम्रो दास प्रबृति, भ्रष्टपथ र कुशासनले जबरजस्त सृजना गरेको कृत्रिम पीडा मात्र हो । यो पीडाबाट मुक्त गर्न र संरक्षणको श्रीपेच पहिरिन हामीलाई एकजना मात्र असल, कुसल, साहसिक, प्रतिबद्ध राजनेताको खाँचो हो । आसा गरौं— प्रकृतिले छिटै विषय विज्ञ, प्रकृतिप्रेमी संक्षणप्रेमी र त्यागी नेतृत्व पाउने छिन् ।

अन्त्यमा, आईयुसिएनको संरक्षण सपना पूरा होस् । मातृभूमिको अपार प्राकृतिक सम्पदा र जैविक विविधताको अनन्तकालसम्म रक्षा कल्याण सम्मान भइरहोस् । बन्यजन्तु बोझ होइनन् बरु समृद्धिका मुहान हुन् भन्ने सकरात्मक सोच हामी सबैमा पलाओस् ।

५०औं विश्व बन्यजन्तु दिवस र सिबिएपियु दिवस दुबैलाई हार्दिक शुभकामना ।

(लेखक आइयुसिएन सदस्य र राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्षका पूर्व निर्देशक हुन्)