राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार फागुन २५ गते हुने निर्वाचनका सोमबार मध्यरातदेखि मौन अवधि सुरु भएको हो ।

मौन अवधिमा राष्ट्रपति निर्वाचनका लागि प्रचारप्रसार लगायतका कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको आयोगले जनाएको छ ।

आयोगले राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचारसंहिता जारी गरेको थियो । उक्त आचारसंहिता २०७९ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड(७२, संख्या ३२ मा प्रकाशन भइसकेको छ । गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पनि सोही आचारसंहिता लागू भएको थियो ।

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् र प्रदेश सभाका सदस्य मतदाता हुन्छन् । संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)का ३३२ जना सदस्य र ७ वटै प्रदेश सभाका ५५० जना सदस्य गरी ८८२ जना मतदाता छन् ।

राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास चन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । कांग्रेसका पौडेललाई सत्तारुढ माओवादी केन्द्रसहितका दलहरूको साथ रहेको छ ।