सिंहदरबारमा आठ दलीय गठबन्धनको बैठक जारी

सिंहदरबारमा आठ दलीय गठबन्धनको बैठक जारी



काठमाडौं । सिंहदरबारमा सत्ता घटकका आठ दलको बैठक बसिरहेकाे छ । नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा आठ दलका नेताहरुको बैठक बसेकाे हो ।

आठ दलले गठन गरेको कार्यदलको बैठक बसेकाे हो । कार्यदल संयोजक नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का छन् भने कार्यदलमा अरू ७ दलबाट एक-एक जना सदस्य छन् ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू छलफलमा जुट्न लागेका हुन् ।

राष्ट्रपति निर्वाचन, समसामयिक राजनीति, उपराष्ट्रपति चुनाव, मन्त्रिपरिषद विस्तारजस्ता विषयहरूमा बैठकमा छलफल भइरहेकाे छ ।

राष्ट्रपति, उपराष्ट्रपति चुनाव सकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिने र मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा दलहरू छन् ।

राष्ट्रपति निर्वाचनको मिति २५ फागुनका लागि तोकिएको छ । आठ दलले साझा उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेललाई बनाएको छ । नेकपा एमालेले नेता सुवासचन्द्र नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।