प्रदेश सांसदलाई खाना र बासको व्यवस्था मिलाउने गठबन्धनको निर्णय

प्रदेश सांसदलाई खाना र बासको व्यवस्था मिलाउने गठबन्धनको निर्णय

बुधबार काठमाडौं आइपुग्‍न निर्देशन



काठमाडौं । नौ दलीय गठबन्धनमा आबद्ध दलका नेताको बैठकले राष्ट्रपति निर्वाचनका लागि काठमाडौं आउने प्रदेशसभा सदस्यहरूलाई खाने र बस्ने व्यवस्था गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको गठबन्धन कार्यदलको बैठकपछि खानेपानीमन्त्री एवं जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले शतप्रतिशत मत खसाउन आ–आफ्नो पार्टीको जिम्मेवारी लिने निर्णय समेत भएको जानकारी दिए ।

गठबन्धन कार्यदलका संयोजक एवम् कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनका लागि मतदाताहरुलाई बुधबारसम्म काठमाडौं आइपुग्न निर्देशन दिइएको र निर्वाचनसँग जोडिएका प्राविधिक पाटोलाई व्यवस्थित गर्नेबारे छलफल भएको बताए ।

संयोजक खड्काले अहिले गठबन्धन पूर्ण रुपमा राष्ट्रपति निर्वाचनमा केन्द्रीत रहेको बताए । ‘हामी सत्ताका विषयमा, भागबन्डाका विषयमा केन्द्रीत छैनौँ । अहिले हामी पूर्ण रुपमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा केन्द्रीत छौँ,’ उनले भने । भागबन्डा लगायतका विषय राष्ट्रपति निर्वाचनपछि मात्रै हुने पनि संयोजक खड्काले बताएका थिए ।

राष्ट्रपति निर्वाचनको मिति २५ फागुनका लागि तोकिएको छ । नाै दलले साझा उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेललाई बनाएको छ । नेकपा एमालेले नेता सुवासचन्द्र नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।