चैत १ बाट ब्याजदर घटाउने बैकर्स संघको निर्णय, ऋणीलाई राहत

चैत १ बाट ब्याजदर घटाउने बैकर्स संघको निर्णय, ऋणीलाई राहत


ग्लोब नेपाल
243
Shares

काठमाडौं । नेपाल बैंकर्स संघले मुद्दति निक्षेपको ब्याजदर यथावत राखेर बचतको ब्याज दर घटाउने निर्णय गरेको छ । बिहीबार बसेको बैकर्स संघको बैठकले ब्याजदर घटाउने निर्णय गरेको हाे । तत्कालका लागि साना ऋणीलाई राहत हुने गरी प्रिमियम घटाउने निर्णय भएको छ।

सबै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधीहरु सहभागी बैठकले चैत १ गतेबाट लागू हुने ब्याजदर पुनरावलोकन गरेको हो ।

अहिले बचतको ब्याजदर ६.४२ देखि ८.४ प्रतिशतसम्म छ। यसलाई ६ देखि ८ प्रतिशत कायम गर्ने निर्णय भएको हो । अहिले कुल निक्षेपमा बचतको हिस्सा २८ प्रतिशत छ। बचतको ब्याजदर घट्ने बित्तिकै आधार दर कम भइहाल्छ । चैत १ गतेबाटै बचतको ब्याज कम हुने छ। यसले करिव ६ अर्ब रुपैयाँ खर्च घट्ने बैंकहरुको अनुमान छ ।

मुद्दति निक्षेपको ब्याजदर भने यथावत राखिएको छ । बैंकरले संस्थागत मुद्दति निक्षेपको ब्याजदर तीन महिनादेखि एक बर्षसम्म समान भएको भन्दै छोटो अवधिको मुद्दतिको ब्याजदर घटाउने तयारी गरेका थिए। तर छलफलमा कुरा उठे पनि निर्णय भने हुन सकेन ।

ऋणको प्रिमियम पनि बैंकले घटाएका छन् । अब आधार दरमा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम लिन पाइने छ। यसअघि ६ प्रतिशतसम्म गर्ने निर्णय भएको थियो । केही बैंकले साढे ८ प्रतिशतसम्म प्रकाशित गरेपछि निक्कै आलोचित पनि भएको थियो ।

मानौ, अब आधार दर १० प्रतिशत छ भने बैंकहरुले बढिमा ५ प्रतिशत थपेर ब्याज १५ प्रतिशतसम्म लिन पाउँछन् । यद्यपी यो सबै ऋणीलाई होइन । जोखिम धेरै भएका ऋणीहरुका हकमा यो लागू हुने छ ।

बैंकहरुले गत माघमा पनि ब्याजदर घटाएका थिए। १२.१३३ प्रतिशतको ब्याज दरलाई ११ प्रतिशत झारेका थिए । निक्षेपको ब्याज घटेपनि आधार दरमा समायोजन भइसकेको थिएन । अब माघ र चैतको एकैपटक समायोजन हुने छ। यसो हुँदा ऋणको ब्याजदर १.५ प्रतिशत बिन्दुसम्म घट्न सक्ने छ ।