डा. उपाध्यायको ‘मुटुसँग सहयात्रा’ लोकार्पण

डा. उपाध्यायको ‘मुटुसँग सहयात्रा’ लोकार्पण


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’ नाम आत्मवृत्तान्त सार्वजनिक गरिएको छ । प्रकाशक इदा उपाध्यायद्वारा वरिष्ठ हृदयरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डे र काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति डा सुरेशराज शर्माले उक्त कृतिको लोकार्पण गरेका हुन् ।

पुस्तकभित्र एक नेपाली डाक्टरको जीवन कथा, भोगाइ, अवसर र चुनौतीका अतिरिक्त नेपाली समाजको चित्रण, मुलुकको स्वास्थ्य प्रशासन, राजनीतिक र भूगोललगायका विषयको रोचक चित्र समेटिएको छ ।

पुस्तकमा रोचक सन्दर्भ, व्यावसायिक जीवन आरम्भ, सुधार गर्न सकिँदोरहेछ, वीरका चुनौतीपूर्ण ती दिन, फरक अवधारणाको अस्पताल, मुटु जोगाउने अभियान, गौरवपूर्ण गङ्गालाल हृदय केन्द्र, नाम्सको चपेटामा वीर अस्पताल, भिआइपीको उपचार, स्वास्थ्य र राजनीति शीर्षकमा विषयगत महत्वपूर्ण घटनासम्बन्धी लेख समेटिएको छ । चार सय ५२ पृष्ठको उक्त पुस्तकको मूल्य रु छ सय ७५ रहेको छ ।

तत्कालीन सोभियत सङ्घबाट चिकित्सा विज्ञानको मुटुरोग विधामा विशेषज्ञता हासिल गरेका डा. उपाध्यायले मुलुकको मुटुरोग उपचार सेवामा विशिष्ट योगदान पुर्याएका छन् । उनले मुलुकको सबैभन्दा ठूलो वीर अस्पतालका अतिरिक्त भक्तपुर, उदयपुर, मेडिकियर, गङ्गालाल, सार्क हार्ट फाउण्डेसनमा संलग्न भई मुटुरोग उपचारमा सेवा पुर्याएका छन् ।

कार्यक्रममा डा. पाण्डेले मुलुकको स्वास्थ्य क्षेत्रमा पछिल्लो समयमा भएका प्रगतिप्रति सन्तोष गर्ने धेरै ठाउँ रहेको बताए । पूर्वउपकुलपति शर्माले देश र समाजलाई माया गर्ने व्यक्तिले गुनासो होइन, कर्तव्य पूरा गरेर मात्र योगदान पुर्याउन सक्छ भने ।

पूर्वसचिव रामचन्द्रमान सिंह, डा. प्रचण्ड प्रधान, डा. प्रकाशराज रेग्मी, वरिष्ठ कवि दिनेश अधिकारीलगायतले पुस्तकमाथि समीक्षा गर्दै पुस्तकभित्र मुटुको महासागरसम्बन्धी घटना समेटिएको बताए । पुस्तकमा डा. उपाध्यायले विधाप्रतिको साधना एवं मेहनत आवश्यक रहने चिकित्साशास्त्र कला र विज्ञानको एउटा अब्बल नमूना भएको उल्लेख गरे ।