प्रमिला यादवले उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिने

प्रमिला यादवले उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिने



काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवार प्रमिला यादवले उम्मेदवारी फिर्ता लिने भएकी छन् । जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले यादवको उम्मेदवारी फिर्ता हुने जानकारी दिए ।

निर्वाचन आयोगका अधिकारीले राष्ट्रपतिमा पुरूष उम्मेदवार भएकाले उपराष्ट्रपतिमा महिला उम्मेदवार बनाउनुपर्ने बताएपछि सत्ता गठबन्धन दल जसपाले पुरूष र महिला दुवै उम्मेदवार उठाएको थियो । जसपाबाट राम सहाय यादव र प्रमिला यादवले उम्मेदवारी दिएका थिए ।

उपराष्ट्रपतिमा राम सहायले उम्मेदवारी दिएपछि उपराष्ट्रपतिका उम्मेदवार एमालेकी अष्टलक्ष्मी शाक्य र जतमत पार्टीकी ममता झाले उनीविरूद्ध उजुरी दिएका थिए ।

निर्वाचन आयोगले आज यादवको उम्मेदवारी यथावत रहने निर्णय गरेपछि प्रमिलाले उम्मेदवारी फिर्ता लिन लागेकी हुन् । आयोगले खस आर्य समुदायको भन्दा फरक मधेशी समुदाय यादव उम्मेदवार हुन अयोग्य भन्न नमिल्ने भएकाले उनको उम्मेदवारी कायमै राख्ने जनाएको छ ।

उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ मा हुँदैछ ।