राष्ट्रपति पदको गरिमा र संविधानको मर्म अनुरुप पौडेलले कार्यसम्पादन गर्ने देउवाकाे विश्वास

राष्ट्रपति पदको गरिमा र संविधानको मर्म अनुरुप पौडेलले कार्यसम्पादन गर्ने देउवाकाे विश्वास



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य रामचन्द्र पौडेलको राजीनामा स्वीकृत भएको छ । बिहीबार राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले आइतबार कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यबाट दिएको राजीनामा सभापति शेरबहादुर देउवाले स्वीकृत गरेका हुन् ।

‘नेपाली कांग्रेसका नेता, केन्द्रीय कार्यसमितिका सदस्य रामचन्द्र पौडेल २०७९ फाल्गुण २५ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनु भएपछि नेपाली कांग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्य समेतबाट अलग हुनुभएको छ । उहाँले आज दिनुभएको राजीनामा सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम आजैका मितिदेखि लागु हुने गरी स्वीकृत गर्नु भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसमा लामो समयसम्म आबद्ध रहेर राष्ट्रियता, लोकतन्त्र र पार्टी संगठनमा पौडेलले पुर्‍याएको अतुलनीय योगदानको उच्च सम्मान र कदर पार्टीले गरेकाे छ । देउवाले राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न पौडेल सफल हुने विश्वास व्यक्त गरेका छन् । उनले पौडेलको कार्यकाल सदैब स्मरणीय रहनेछ भन्ने विश्वासका व्यक्त गर्दै शुभकामना समेत दिएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पार्टी सदस्य रहन नमिल्ने कानुनी व्यवस्था छ । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।