ओखलढुंगाको प्रत्येक वडामा विजुली पुर्‍याउन सांसद खतिवडाले गरे पहल

ओखलढुंगाको प्रत्येक वडामा विजुली पुर्‍याउन सांसद खतिवडाले गरे पहल


ग्लोब नेपाल
5.2k
Shares

काठमाडौं । ओखलढुंगाको प्रत्येक वडामा छिट्टै विजुली पुग्ने भएको छ । आखेलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद रामहरि खतिवडासहितको टोलीले सोमबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेट गरी जिल्लाका सबै वडामा विजुली पु-याउन आग्रह गरेको छ ।

निर्वाचनका बेला सांसद खतिवडाले जिल्लाका सबै वडा विद्युतिकरण गर्ने प्रतिबद्धता जनाएका थिए । त्यही प्रतिबद्धता पूरा गर्न सांसद खतिवडा कोसी प्रदेश सभामुख तथा ओखलढुंगा प्रदेश ‘ख’ का सांसद बाबुराम गौतमसहितको टोली लिएर साेमबार प्राधिकरण पुगेका छन् ।

उपराष्ट्रपति निर्वाचनपछि ओखलढुंगाका संघीय र प्रदेश सांसदहरु र ८ वटै पालिका प्रमुखसहितको विद्युत प्राधिकरणसँग संयुक्त बैठक बसेर निर्णय लिने बताइएको छ । भेटका अवसरमा जिल्लामा विद्युतिकरणका लागि सिग्मा कम्पनीले एक अर्ब रुपैयाँको टेन्डर पारेको र एक बर्षभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता गरेको महानिर्देशक घिसिङले जानकारी दिए । एक अर्बभन्दा बढी खर्च लाग्ने भए ५० करोड रुपैयाँसम्म विद्युत प्राधिकरणले दिने सांसद खतिवडाले ग्लोब नेपाललाई जानकारी दिए ।

चैत्र मसान्तभरिमा पोकली महोत्सवमा विजुली बत्ती पु-याउने लक्ष्य रहेको सांसद खतिवडाले बताए । उनले भने, ‘निर्वाचनका बेला मैले जनतासँग गरेको प्रतिबद्धताअनुसार जिल्लाका प्रत्येक वडामा विद्युतिकरणका लागि पहल गरेको छु, हेरौं, छिटोभन्दा छिटो जिल्लामा विद्युतिकरण गर्ने प्रयास हुनेछ ।’