प्रधानमन्त्रीले सहजताका साथ विश्वासको मत पाउनुहुन्छ : गगन थापा

प्रधानमन्त्रीले सहजताका साथ विश्वासको मत पाउनुहुन्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहजताका साथ विश्वासको मत पाउने बताएका छन् ।

प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मतका लागि संसद्‌मा प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा मतदान गरेर र्फकिने क्रममा संचारकर्मीसँग प्रतिक्रिया दिँदै थापाले यस्ताे बताएका हुन् ।

‘नेपाली कांग्रेसले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिन्छ । राष्ट्रपतिको निर्वाचनमा मत हालेका गठबन्धनका दलहरु एक ठाउँमा हुन्छौँ,’ थापाले भने, ‘त्यसैले सहजताका साथ विश्वासको मत उहाँले पाउनु हुन्छ ।’

थापाले संसद्को आगामी बैठकअघि नै पार्टी सत्तापक्षमा बस्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै सत्तापक्षमा जाने/नजाने कुरा निर्णय गर्नुपर्ने बताएका हुन् ।

चैत ५ गतेका लागि बोलाइएको संसद् बैठकअघि नै कांग्रेसले सत्ता पक्षमा बस्ने, सरकारमा जाने र प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गर्नुपर्ने महामन्त्री थापाको भनाइ छ ।