को जाँदैछ कांग्रेसको नेतृत्व गरेर प्रचण्ड सरकारमा ?

को जाँदैछ कांग्रेसको नेतृत्व गरेर प्रचण्ड सरकारमा ?



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन र संसदीय दलको बैठक आइतबारलाई बोलाएको छ । बैठकले पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गर्दैछ । यो निर्णयसँगै संसदमा कांग्रेस प्रतिपक्षबाट सत्ता पक्षमा सर्नेछ ।

सरकारमा सहभागी हुने, तर कसको नेतृत्वमा भन्ने विषयले आइतबारको बैठकमा प्रवेश पाउने छैन । किन भने नेतृत्व गरेर सरकारमा जान आधा दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । चैत १० गते भित्र सरकारले पूर्णता पाउने बताइएका बेला अहिले नै यो विषय उठान भयो भने विवादले नयाँ रुप धारण गर्ने एक कांग्रेस सांसद बताउँछन् ।

कांग्रेसले उपप्रधानमन्त्रीसहित ८ वा ९ वटा मन्त्रालय पाउने बताइएको छ । उपप्रधानमन्त्री कसलाई बनाउने भन्ने विषय कांग्रेसभित्र निक्कै पेचिलो बनेको छ । हालका उपसभापतिदेखि पूर्वउपसभापति तथा वर्तमान महामन्त्रीसम्मले आकांक्षा देखिएपछि समस्या पेचिलो बनेको हो । पूर्वउपसभापति विमलेन्द्र निधि, हालका उपसभापति पूर्णबहादुर खड्का, वर्तमान महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पार्टी महाधिवेशनमा सभापतिका प्रत्यासी डा. शेखर कोइराला र पूर्वसहमहामन्त्री एवं वर्तमान प्रवक्ता डा. प्रकाशशरण महतले आकांक्षा देखाएका छन् । शेखर र गगनबाहेक सबै सभापति शेरबहादुर देउवाका सहयोगी हुन् ।

अन्ततः वर्तमान पूर्व उपसभापति निधि, वर्तमान उपसभापति खड्का र वर्तमान महामन्त्री थापामध्ये एकजना प्रधानमन्त्रीपछिको दोस्रो वरियता सम्हाल्दै सरकारमा जाने सम्भावना रहेको समाचार स्रोतले ग्लोब नेपाललाई बतायो ।

कांग्रेस पूर्व उपसभापति निधि पनि सरकारको नेतृत्व लिन तयार देखिएका छन् । उनले पछिल्लो समय सभापति देउवासँगको सम्बन्ध सुमधुर बनाएका छन् । कांग्रेसलाई अहिले सरकारमा पुर्याउने महत्वपूर्ण भूमिका निर्वाह गरेका निधिले सरकारमा आफूलाई नेतृत्व दिने अपेक्षा राख्दै आएका छन् । कांग्रेसको गत महाधिवेशनमा पहिलो चरणमा सभापतिमा आफैं उम्मेदवार बनेका निधिले दोस्रो चरणमा देउवालाई साथ दिँदै सभापतिमा सघाएका थिए ।

खड्का उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी पाए सरकारमा जाने मनस्थितिमा छन् । तथापि, उनले सरकारमा जाने आफ्नो इच्छा नरहेको सामाजिक सञ्जालमार्फत लेखेका छन् । महामन्त्री थापा नेतृत्व गरेर सरकारमा जाने सम्भावना पनि त्यत्तिकै बलियो रहेको बताइन्छ । यद्यपि उनले आफू संगठन विस्तारमा लाग्ने र पछि ड्राइभिङ सिटमै बस्ने बताएका छन् । परिस्थितिले उनको यो भनाइलाई खण्डन गर्ने वातावरण कार्यकर्ताले बनाइरहेका छन् । महामन्त्री थापाको नेतृत्वमा सरकारमा जाँदा कांग्रेसले जनतालाई धेरै सौलियत र सुविधा डेलिभरी गर्नसक्ने बताइएको छ ।

पूर्वमहामन्त्री सिंह पनि उपप्रधानसहित सरकारको नेतृत्वमा जान तयार देखिएका छन् । उनले पछिल्लो समय आफूनिकट नेतामार्फत सरकारमा जाने इच्छा सभापतिसम्म पुर्याइसकेका छन् । देउवालाई सभापति जित्दा लगाएको गुण अहिले नै तिर्न सन्देशबाहकलाई खबर पठाएको कांग्रेस स्रोतले बतायो ।

पार्टी महाधिवेशनमा सभापतिसँग प्रतिस्पर्धा गरेका कोइराला आफू सरकारमा नजाने स्पष्ट पारेका छन् । तर एकथरि कार्यकर्ताले अहिलेको नेतृत्व शेखरलाई दिइयो भने न्याय हुने बताइरहेका छन् । तर कोइरालाले नेतृत्व पाउने सम्भावना न्यून रहेको बताइएको छ ।

यसैगरी, कांग्रेस पूर्वसहमहामन्त्री एवं वर्तमान प्रवक्ता महतको पनि सरकारमा उपप्रधानसहितको जिम्मेवारीमा जाने चाहना देखिएको बुझिएको छ । उनले उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा जान इच्छा देखाएका हुन् । पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने डा. महत पार्टीलाई जहाँ जतिखेर समस्या पर्छ त्यो बेला समाधानका सारथी बनेर अघि सर्छन् र जिम्मेवारीलाई सुझबुझपूर्ण ढंगले सहजताकासाथ पूरा गर्दै आएको विगत बनाएका छन् ।

अहिलेको अर्थतन्त्रलाई सही बाटोमा ल्याउन कांग्रेसमा अर्थशास्त्र पढेको र अनुभव संगालेको नेता प्रवक्ता महत मात्र देखिएको अर्थ बजारमा चर्चा छ । तर उनले अहिलेसम्म आफैले मुख भने खोलेका छैनन् । सरकारमा सहभागी हुँदा सिनियर नेता जो भए पनि आफूलाई स्वीकार हुने डा. महतले बताउदै आएका छन् ।

हाल सरकारको नेतृत्व गरेको गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चासहितका १० दल छन् ।

यी १० दल प्रधानमन्त्रीले विश्वासको मत सँगसँगै लिने र ८ दल मन्त्रिपरिषद् विस्तारमा सहभागी हुने गरी आवश्यक तयारी र रणनीति बनाएका छन् । एमालेसहितको गठबन्धन १२ फागुनमा भत्किएपछि १० दलीय गठबन्धन बनेको हो । वर्तमान सत्ता गठबन्धनमा नेपाली कांग्रेस मुख्य निर्णायक शक्तिका रूपमा छ । सरकारको नेतृत्व माओवादी केन्द्रको भएकाले कांग्रेसका दोस्रो तहका नेताको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ ।